१६ बैशाख २०८१, आईतवार

गेटा आँखा अस्पतालको २३ औं शाखाको गोकुलेश्वरमा




धनगढी/ सुदूरपश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालद्वारा दार्चुला जिल्लाको गोकुलेश्वरमा आँखा उपचार केन्द्र स्थापना भएको छ ।

शैल्यशिखर नगरपालिकासितको सहकार्य तथा सेभा फाउण्डेशनको सहयोगमा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका, लेकम, मार्मा, नौगाड गाउँपालिका र बैतडी जिल्लाको डिलाशैनी गाँउपालिकाका आँखाका रोगीहरुलाई नियमित आँखा उपचार सेवा प्रदान गर्न गोकुलेश्वरमा आँखा उपचार केन्द्र स्थापना भएको हो ।

सो केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरेर आँखा परिक्षण, औषधि उपचार चश्मा उपलब्ध गराउनको साथै सामान्य शल्यक्रिया सेवा र समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालन गरिने छ ।

आँखाको जटिल समस्या भएका बिरामीहरुलाई आँखा परिक्षण गरिने उपकरणमा नै जडित क्यामराको मद्धतले टेलिमेडिसिनको प्रयोग गरेर गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परिक्षण र आवश्यक परामर्श गरेर उपचार सेवा समेत प्रदान गरिनको साथै विद्यालयका विद्यार्थीहरुको आँखा परीक्षण गरेर चश्माको आवश्यकता भएका विद्यार्थीहरुलाई निःशुल्क चश्मा समेत उपलब्ध गराइने छ ।

शैल्यशिखर नगरपालिका नगर प्रमुख विजयसिंह धामीको सभापतित्वमा संचालित उद्घाटन कार्यक्रममा नगर प्रमुख धामी र नेपाल नेत्रज्योति संघका केन्द्रीय सहकोषाध्यक्ष विष्णुदत्त जोशीबाट शनिबार आँखा उपचार केन्द्रको संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।

नेपाल नेत्रज्योति संघ कैलालीका सभापति तथा गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज जोशी र नगरपालिकाका उपप्रमुख शान्ति खडायत शुभकामना व्यक्त गरेको प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले सबै सहभागीहरुलाई स्वागत गर्नको साथै गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले आँखा रोगको वर्तमान अवस्था र आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाको बिषयमा प्रकाश पारे ।

कार्यक्रममा शैल्यशिखर नगरपालिकाका वार्ड अध्यक्ष, गोकुलेश्वर माविका प्रधानाध्यापक, क्याम्पस प्रमुख तथा विभिन्न संघ संस्थाका पदाधिकारी, कार्यालय प्रमुख, पत्रकार र स्थानीय समाज सेवीहरुको सहभागिता रहेको थियो ।

गेटा आँखा अस्पताल बाट प्रदान भई रहेको सेवामा बिभिन्न कारणबाट पहूँच हुन नपाई आँखा उपचार सेवा लिनबाट विगत लामो समयदेखि बन्चित सो क्षेत्रका आँखाका रोगीहरु उपचार केन्द्रबाट लाभान्वित हुने छन् ।

प्रदेशको अन्धोपन न्यूनीकरण तथा गुणस्तरीय आँखा उपचार सेवा पुर्याउन गेटा आँखा अस्पतालले अस्पताल तथा यस अन्तरगत यस प्रदेशका ९ वटै जिल्लामा संचालित २३ वटा शाखाहरुबाट नियमित उपचार सेवा प्रदान गर्नको अतिरिक्त विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई आँखा उपचार सेवाको पहूँच बढाउन आँखा शिविर मार्फत समेत सेवा प्रवाह गरि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार