१० श्रावण २०८१, बिहीबार

कारागारमा कैदीवीच कुटाकुट, के हेरेर बसे सुरक्षाकर्मी



धनगढी/ कैलालीस्थित जिल्ला कारागारमा कुटाकुट भएको छ। अस्तिमात्रै जेठ २२ गतेका दिन कैदीबन्दीहरुसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको हो।

कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका ‘किलर ग्याङ’सहितका कैदीहरु र चौकीदारहरुबीच कुटाकुट भएको हो। कारागारभित्रै त्यसमाथि प्रहरी प्रशासनको घेराभित्र कुटाकुट हुनुले सुरक्षाकर्मी र त्यहाँका जेलरको लापरबाही उदाङ्गिएको छ।

कारागारका प्रहरी प्रमुख सई राजेन्द्र कुमालले २२ गते कुटाकुट भएको बताउँदै त्यस दिन असई योगेन्द्र बोहरा ड्युटीमा रहेको महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार त्यसदिन कारागार प्रहरीका हाकिम सई चरन बुढाथापा भने बिदामा थिए। अहिले बुढा जिप्रका कैलालीमा सरुवा भैसकेका छन्।

उनको सरुवा भएपछि आफू आएको र त्यस दिन ड्युटीमा रहेका असई बोहराको पनि जिप्रका सरुवा भएको कुमालले बताए। उनले आफू २३ गतेको बेलुका मात्र जिप्रकाबाट सरुवा भएर कारागारमा आएको बताए। घटनाका बखत आफू जिप्रका कैलालीमै कार्यरत रहेको उनको दाबी छ।

कुटाकुटमा परि कारागारका आउटडोर चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बम लगायतका केही कैदीहरु पनि घाइते भएका थिए। सो काण्डपछि हिजोमात्रै १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट हटाइएको छ।

उनीहरुलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लाका कारागारमा सारिएको हो। तर भुपेन्द्र हत्याकाण्डका अभियुक्तहरु भने कैलाली कारागारमै छन्। उनीहरुले कारागारभित्रै दादागिरी गर्ने र गुन्डागर्दी गर्ने गरेको बताइन्छ।

यता जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख सिडिओ युवराज कट्टेलले भने २२ गते त्यस्तो घटना भएको र त्यहीँ बेला त्यहाँको चौकीदार मानबहादुर खड्कालाई सरुवा गरिएको बताए। यस्तै सुरक्षाको टिम पनि पुरै फेरिएको उनले बताए। जेलमा अस्वभाविक स्वभाव देखिए ठेगान लगाइने उनको दाबी छ।

सो दिन कुटपिट भएको नभएर अवैध खानेकुरा लिएर जेलभित्र कैदीहरुले खाने क्रममा विवाद भई धकेलाधकेल मात्र भएको उनको भनाई छ। उनका अनुसार सो घटनाका बेला जेलर पदमराज तिमिल्सिना र प्रहरी प्रमुख सई चरन बुढाथापा पनि बिदामा थिए। जेलर भर्खरै आएकाले सरुवा गर्न नमिलेको र सुरक्षाको टिममात्र फेरिएको उनले जनाए।

कैलाली कारागारका जेलर तिमिल्सिना भने आज बिहान ट्रेनिङको लागि भन्दै राजधानी काठमाडौं उडेको बताइएको छ। उनलाई यस विषयमा बुझ्न खोज्दा फोन उठेको छैन।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार