७ पुष २०८१, आईतवार

प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको मङ्गलबारको बैठकको बहुमतले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा सबै प्रदेश सभा सदस्यहरुले भाग लिएका थिए । प्रदेश सरकारले जेठ २४ गते प्रदेश नीति तथा कार्यक्रम प्रदेश सभा बैठकमा प्रस्तुत गरेको थियो । छलफलमा सत्तापक्षका प्रदेश सभा सदस्यहरुले थप्नु पर्ने विषयमा सुझावसहित नीति तथा कार्यक्रमको समर्थन जनाएका थिए ।

यसैगरी, प्रतिपक्षी दलबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्यहरुले पुरानै निरन्तरता र कर्मकाण्डी भन्दै आरोप लगाउदै नीति तथा कार्यक्रमको विरोध गरेका थिए ।

नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिनुहुँदै मुख्यमन्त्री कमलबहादुर शाहले सत्तापक्ष, प्रतिपक्षबाट नीति तथा कार्यक्रममाथि राखिएको विचार, समर्थन, आलोचनाका लागि सरकारको तर्फबाट धन्यवाद ज्ञापन दिएको थियो । उनले प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रमको प्राथमिकता, कार्यदिशा, महत्वकांक्षा र कार्यान्वयन पक्ष गरेर मूलभूत रुपमा तीन वटा पक्षमा आ–आफ्ना विचार राखेको बताए ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने सत्तापक्ष वा प्रतिपक्ष जुनसुकै तर्फका प्रदेश सभा सदस्यहरु परिवर्तनको पक्षमा रहेको मुख्यमन्त्रीको भनाइ थियो । यो खुशीको विषय हो”, उनले अगाडि थपे,“कोही पनि माननीयहरु अब परिवर्तन हुनु हुँदैन है भन्ने अथवा व्यक्तिवादी चाहना मैले पाएन ।

यसअघि नीति तथा कार्यक्रम माथिको मंगलबारको छलफलमा प्रदेश सभा सदस्यहरु जानकी ऐर बम, धर्मराज पाठक, टीका थापा, देवानसिंह विष्ट, हिरा सार्की, बेलबहादुर रानामगर, गीता चौधरी लगायतकाले भाग लिएका थिए ।

प्रदेश सभाको अर्को बैठक जेठ ३२ गते दिउँसो ४ बजे बस्ने सभामुख भीमबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार