५ जेष्ठ २०८१, शनिबार

कारसँग स्कुटर ठोक्किँदा एकै परिवारका चार नेपालीको मृत्यु



महेन्द्रनगर/ कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासा र खटिमाको बीचमा पर्ने भारतको राष्ट्रिय राजमार्गको अन्र्तगत चकरपुर जंगल नजिक सडक दुर्घटना हुँदा एकै परिवारका चार जना नेपालीको मृत्यु भएको छ ।

शनिबार कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । खटिमाको मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारी नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो ।

उनीहरू कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा रहेको घरमा पूजापाठ गरेर फर्किरहेका थिए । त्यसक्रममा तिव्र गतिको कारसँग चकरपुरमा उनीहरू सवार दुई स्कुटर ठोक्किएका थिए ।

दुर्घटनामा परेर गम्भिर घाइते भएका उनीहरूलाई उपचारका लागि खटिमास्थित नागरिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उल्टाखाममा मृतक नेमबहादुरका दाइ तेजबहादुर बस्ने गरेका छन् । ‘मृतकहरु कामको शिलशिलामा खटिमामा बस्थे, उल्टाखाममा पनि जमिन छ,’ भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष उत्तमप्रसाद भट्टले भने, ‘उल्टाखाम आउजाउ गरिरहन्थे ।’

एकै परिवारका चार जनाको मृत्यु भएपछि चन्द परिवार शोकमग्न छ । मृतक नेमबहादुरका छोरा ललितको पनि अघिल्लो वर्ष सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । नेमबहादुरका छोराहरू दीपक र प्रेम अहिले भारतको चेन्नाइमा कम्पनीमा काम गर्छन् । घटनाबारे जानकारी पाएपछि उनीहरू खटिमा फर्किरहेका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । छोराहरू खटिमा पुगेपछि हिन्दु परम्पराअनुसार महाकाली नदीको शारदा घाटामा अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार