१४ बैशाख २०८१, शुक्रबार

गेटामा विश्वविद्यालय माग्दै गोदावरी बन्द गरिने



धनगढी/गेटामा चिकित्सा विश्वविद्यालयको माग गर्दै कैलालीको गोदावरी नगर क्षेत्र बन्द गरिने भएको छ। भोलि (बिहीबार) अत्तरियास्थित गोदावरी नगर क्षेत्र बन्द गरिने भएको हो।

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले भोलि नगर क्षेत्र बन्दको घोषणा गरेको हो। समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै जेष्ठ २५ गते (भोलि) बिहान ८ बजे देखि साँझ ६ बजेसम्म गोदावरी नगर क्षेत्र बन्द गर्ने घोषणा गरेको जनाएको छ।

‘२०७९ माघ २९ गतेका दिन नेपाल सरकारले आफैले गरेको निर्णयबाट पछि हट्दै सुदूरपश्चिमका जनताहरुको स्वास्थ्यमाथि खेलवाड तथा अपहेलना हुने गरी बजेट मार्फत गरिएको घोषणा हामीलाई कुनै हालतमा मान्य हुने छैन ।

पटक पटकको जानकारी, अन्तरक्रिया, छलफल र विरोध र्याली लगायका कार्यक्रममहरु गर्दापनि सुदूरपश्चिमेली जनताको मागप्रति सरकार उदासीन देखिएकोले हामी कडा संघर्षका कार्यक्रममा जान बाध्य भएका छौं’, संघर्ष समितिका संयोजक लोकराज पाण्डेद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘जसको फलस्वरुप भोलि जेष्ठ २५ गते बिहान ८ बजे देखि साँझ ६ बजेसम्म गोदावरी नगर क्षेत्र बन्द रहने कार्यक्रम तय गरेका छौं ।

उक्त बन्द समयावधि भित्र यस क्षेत्रमा रहेका निजि तथा सरकारी विद्यालयहरु, व्यापार–व्यवसायहरु, उद्योग तथा कलकारखाना लगायतका सम्पूर्ण कार्यालयहरु बन्द गरी आन्दोलनलाई सहयोग गरिदिन हुन यस क्षेत्रका सम्पूर्ण महानुभावहरुलाई यो सघर्ष समिति विनम्र अनुरोध गर्दछ ।’

विज्ञप्तीमा नेपाल सरकारले यही २०८० साल जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमा कैलाली जिल्लाको गेटामा स्थापना गर्ने भनिएको १०० शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति घोर विरोध रहदै आएको उल्लेख गरिएको छ।

‘२०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय र सम्माननीय राष्ट्रपति ज्यूले २०८० जेठ ५ गतेका दिन संघीय ससदमा प्रस्तुत भएको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भन्ने कुरा उल्लेख भएको हो।

तत्पश्चात् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकको मस्यौदा तयार गरिसकेको कुरा आम जनसमुदायलाई जानकारी गराउन चाहन्छौं’ विज्ञप्तीमा भनिएको छ, ‘मेडिकल माफिया र भ्रष्टाचारी नियतका राजनीति कर्मीहरुको गठजोडले गर्दा यो कामलाई विफल पार्ने प्रयास भएको छ।’

संघर्ष समितिले भोली नै साँझ ५ बजे अत्तरिया चौराहाबाट बाजागाजा सहित यसक्षेत्रका सम्पूर्ण जनसमुदायको उपस्थितिमा गेटा मेडिकल विश्व विद्यालयको बोर्ड लगाएर सडकबाटै मेडिकल विश्वविद्यालय जन घोषणा गर्ने पनि कार्यक्रम रहेको विज्ञप्ती मार्फत जानकारी दिएको छ। उक्त कार्यक्रममा यसक्षेत्रका सम्पूर्ण जनसमुदायलाई उपस्थितिका लागि संघर्ष समितीले आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार