१६ चैत्र २०८०, शुक्रबार

खप्तडको महत्वको अन्तराष्ट्रियकरण भैसक्यो : प्रधानमन्त्री प्रचण्ड



खप्तड ( बाजुरा)/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तडलाई सुदूरपश्चिमको लागि मात्र होइन देशकै लागि पर्यावरणमैत्री बनाउदै पर्यटन र आध्यात्मिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले तीन दिने प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दे खप्तडको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको समेत बताए । उनले नयाँ पर्यावरणमैत्री सहित खप्तडको नयाँ संरचनाको विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको बताए ।

यो सम्मेलन सफल भैसकेको छ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, यहाँ अमेरिका, इजरायल भारतजस्ता देशका दूतावासबाट प्रतिनिधिहरु पनि जसरी खप्तड आउनुभएको छ त्यसले यस क्षेत्रको महत्वलाई अन्तराष्ट्रियरुपमा स्थापित गराएको छ ।

खप्तडको विकास गरौ मैले प्रधानमन्त्रीको हैसियतले भन्दै छु यो क्षेत्र पर्यटनको केन्द्र र अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउनुपर्छ उनले भने, यो सुदूरपश्चिमको मात्र नभएर नेपाल राष्ट्रकै अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रको रुपमा सदुपयोग गर्नसक्नुपर्दछ ।

प्रधानमन्त्री प्रचण्डले पहिलेको भन्दा अलि फरक तरिकाले मैले सुदूरपश्चिमको विकासमा ध्यान केन्द्रित गरेको बताउदै म यहाँका जनप्रतिनिधि र जनसमुदायलाई भन्न चाहान्छु चाहे यहाँ विश्वविद्यालय स्थापना गर्ने सम्बन्धमा स्वास्थ विज्ञान विश्वविद्यालय स्थापना गर्ने घोषणा र क्याबिनेटबाट गरिएको निर्णय होस या दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्न अहिले भर्खर भारतसंग भएको सहमति होस, सुदूरपश्चिम क्षेत्रको विकास नगरेसम्म देश समृद्ध हुन सक्दैन भन्ने विश्वासको साथ म अगाडि बढेको छु भने ।

उनले नेपाल सास्कृतिक विरासत र वैभव तथा आध्यात्मिक दृष्टिकोणले विश्वकै अब्बल देश हो । नेपालमा हजारौं प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यका स्थलहरु छन् । पूर्वमा पाथीभरादेखि पश्चिममा बडिमालिकासम्म हजारौ त्यस्ता ठाउँ छन् जसको विकासले हामीले पर्यटनमा रेकर्ड बनाउन सक्छौं ।

सो सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले अन्तर्राष्ट्रिय समुदायलाइ खप्तडमा लगानी गर्नक लागि आग्रह गरे ।

योगगुरु रामदेवले खप्तडको पर्यटन पर्वद्धन गर्न आफूले सकेजति निशुल्करुपमा प्रचारप्रसार गर्ने बताउनुभयो । आचार्य बालकृष्णले जीवनमा एक पटक खप्तड हेर्न आउनै पर्ने बताए । जिउदै स्वर्ग हेर्नुछ भने खप्तड आउनुस खप्तड धेरै सुन्दर छ पतन्जली योगपिठको सहयोग हुन्छ उनले भने ।

सुदूरपश्चिमका मुख्यमन्त्री तथा अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजक मुल समारोह समितिका संयोजक कमलबहादुर शाहको अध्यक्षता भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रदेश प्रमुख देवराज जोशी, सभामुख भीमबहादुर भण्डारी, नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावल, नेपाली काँग्रेसका नेता रमेश लेखक लगायतको सम्मेलनमा उपस्थिति थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न झाँकीहरु प्रर्दशन गरिएको थियो ।

सो सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहले आयोजना गरेका हुन । खप्तडको धार्मिक, आध्यात्मिक र सांस्कृतिक पक्ष संरक्षण गर्न सम्मेलनको आयोजना गरिएको हो ।

खप्तडबाबाले ५० वर्ष साधना गरेको खप्तडलाई पर्यटकीय हिसावले ‘भर्जिन’ क्षेत्र हो । आध्यात्मिक सम्मेलनपछि खप्तडमा भारतीय र तेस्रो मुलुका पर्यटक बढ्ने विश्वास गरिएको छ ।

काशीको दक्षिणामूर्ति मठमा पूर्वीय दर्शनको अध्ययन, अध्यापनपछि गहन साधनाका लागि खप्तड पुगेका खप्तडबाबाले खप्तड बसाइका क्रममा धर्म विज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, योग विज्ञान, वेदान्त विज्ञान र आत्मज्ञानलगायत कैयौँ कृति तयार पार्नु भएको थियो ।

ठूलाठूला पाटन (चौर), पाटनभरि फैलिएका रङ्गीबिरङ्गी फूल, दह, जीवजन्तु र हिमालको प्राकृतिक सौन्दर्यले सुशोभित खप्तडबारे स्कन्द पुराणमा समेत चर्चा गरिएको पाइन्छ ।

खप्तड आध्यात्मिक, धार्मिक र प्राकृतिक वासस्थानको हिसाबले पनि त्यत्तिकै महत्वपूर्ण छ । धार्मिक किंवदन्तीका अनुसार पाण्डुपुत्र युधिष्ठिर खप्तडको बाटो हुँदै स्वर्ग गएका थिए । त्रिवेणीधाम, केदारढुङ्गा, नागढुङ्गा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिङ्ग, खप्तडबाबाको कुटी जस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ ।

२२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) ले भरिपूर्ण जैविक विविधताको फूलबारी खप्तड सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरिका जडीबुटीले भरिपूर्ण छ । समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको खप्तड क्षेत्रमा सदियौँदेखि लाग्ने विविध सांस्कृतिक मेलामध्ये गङ्गा दशहरा, जनैपूर्णिमामा हजारौँ तीर्थयात्री त्यहाँ पुग्ने गरेका छन् ।

खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार