७ बैशाख २०८१, शुक्रबार

युवालाई छुने कार्यक्रम ल्याउछौ : मुख्यमन्त्री शाह (भिडियो सहित)



धनगढी/ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वास्तविकताका आधारमा युवावर्गलाई समेट्दै सन्देश दिने खालले रोजगारी सृजना गर्ने गरेर नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।

राष्ट्रिय युवा परिषद, युवालय लगायतका संस्थाको आयोजनामा धनगढीमा भएको जेठ १४ र १५ गते भएको नीति सम्वाद तथा युवा महोत्सवको घोषणापत्र बिहीबार बुझ्दै मुख्यमन्त्री शाहले युवावर्ग बाध्यता र रहर दुईवटै कारण देश छोडिरहेकोले उनीहरुलाई स्वदेशमै रोक्ने प्रयास गर्न लागि परेको बताए । विपन्न परिवारका युवा पेट पाल्न भारत तथा खाडीमुलक र हुनेखाने परिवारका युवा युरोप, अमेरिकातर्फ रहरले जाने गरेको अवस्थालाई आफूले बुझेको बताउदै उनीहरुलाई छुने खालको कार्यक्रम बनाउन खोजिरहेको चर्चा उनले गरे ।

हामीले लागू औषध दुव्र्यसनीबाट जोगाउनका लागि समेत केही कार्यक्रम ल्याउछौ उनले भने“ युवालाई के उपायले स्वदेशमै रोक्न सकिन्छ राम्रो सुझावको अपेक्षा हामीले सबैतिरबाट गरेका छौ, राम्रो सुझावलाई सरकारका कार्यक्रममा समेटेर जाने छौ ।”

एक प्रसंगमा मुख्यमन्त्री शाहले आफू सुदूरपश्चिमका नौवटै जिल्लामा घुम्दा सबैतिर बाटोघाटो पुगेको, स्वास्थ्य चौकी, विद्यालय बनेको पाएको बताउदै केही पनि काम भएन भनेर निराश बनाउने कुरा गलत भएको बताए । उनले हो केही गल्ती भएका छन् तर केही भएन भन्नु ठिक होइन भने ।

सो अवसरमा युवालयका अध्यक्ष सन्तोष मर्हजन, वालिका दुलही होइनन्का निरीजना भट्ट, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य किरण थापाले नीति सम्वाद तथा युवा महोत्सवले समुन्नत सुदूरपश्चिम प्रदेशका लागि साझा अठोट भन्ने नाराका साथ जारी गरेको २१ बुँदे घोषणा पत्र मुख्यमन्त्री शाहलाई हस्तान्तरण गरे ।

युवालयका अध्यक्ष महर्जनले २१ बुँदे घोषणापत्रले युवाका लागि गर्नु पर्ने काम प्रस्टरुपमा उल्लेख गरेको दावी गरे ।

यस्तै गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य थापाले मनमनै विदेश जाने टिकट काटिसकेका युवालाई रोक्न सकेर सही काममा लगाउन सके देशमा चाँडै समृद्धी आउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार