१३ बैशाख २०८१, बिहीबार

नेपाल उद्योग व्यवसाय महासंघ पनि गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै पक्षमा



धनगढी / सरकारले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बननाउने निर्णय विपरीत बजेटमा प्रतिष्ठान बनाउने घोषणा गरेपछि आन्दोलन उठ्न थालेको छ । संघर्ष समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा समेत आन्दोलनको मोर्चा बनाउनेबारे छलफल गरिएको छ ।

बिहीबार नै विश्वविद्यालय निर्माणका लागि दबाबमुलक कार्यक्रम गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघमा छलफल गरिएको हो । नेपाल उद्योग व्यवसाय महासंघ सुदूरपश्चिमको अगुवाईमा विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरुसँग गरिएको छलफलमा गेटालाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन एकताबद्ध भएर सरकारलाई दबाब दिने सहमती भएको छ ।

उद्योग व्यवसाय महासंघका प्रदेश अध्यक्ष बिरबहादुर साउदले दोस्रो चरणको छलफलबाट संघर्षका कार्यक्रम घोषणा गरिने जानकारी दिए । ‘गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट पछि हटेर सरकारले प्रतिष्ठानका रुपमा अघि बढाउने घोषणा गरेर प्रदेशबासीको चाहानामाथि प्रहार गरेको छ,’ साउँदले भने, ‘यो विषयमा सबै एकताबद्ध भएर अघि बढ्ने कुरा भएको छ । अर्को चरणको छलफलबाट संघर्षका कार्यक्रम अघि साछौँ ।’

कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले सरकारले विश्वविद्यालय सञ्चालन गर्ने भनेपछि प्रदेशबासी उत्साहित भएकोमा अहिले प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने कुरा आएकाले स्वीकार्य नहुने बताएका छन् । मेडिकल कलेज सञ्चालन हुन नदिने चलखेल अन्तरगत प्रतिष्ठानको कुरा ल्याइरहेको बताउदै उनले विश्वविद्यालयका लागि सबै राजनीतिक दल, सम्बद्ध संघसंस्था एकताबद्ध भएर सरकारविरुद्ध लड्नुपर्ने जनाए ।

सोही छलफलमा सहभागी नेकपा एमाले कैलालीका अध्यक्ष दुर्गाप्रसाद जोशीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटेकाले सबैले खबरदारी गर्न अग्रसर हुनुपर्ने बताए । उनले विकासको सम्बन्धमा राजनीतिक रंग दिन आवश्यक नभएको बताउदै ३० लाख सुदूरपश्चिमबासीसँग प्रत्यक्ष सरोकार राख्ने मेघा प्राजेक्टका रुपमा रहेको मेडिकल कलेज सञ्चालन नगर्ने नियत देखिएको जनाए ।

‘हिजो प्रधानमन्त्री स्वयंमले मन्त्रिपरिषद्बाट स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गर्नुभयो तर आज उहाँले नै प्रतिष्ठान बनाउने भनेर बजेट ल्याउनुभयो,’ जोशीले भने, ‘हामी कस्तो देशको नागरिक हौँ, जहाँ प्रधानमन्त्रीले नै झुठो बोल्नुहुन्छ । त्यसकारण विश्वविद्यालय सञ्चालन गर्न यो दल त्यो भनेर नभएर हामी सबै एकजुट भएर लाग्नुपर्छ ।

अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष किशोर शाहले सरकारले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना नगरेको खण्डमा जुनसुकै तहको आन्दोलन गर्न पनि तयार रहेको बताए । शाहले मेडिकल माफियाहरुले निजी मेडिकल कलेज सञ्चालन गर्न विभिन्न चलखेल गरिरहेको बताउदै त्यसविरुद्ध एकजुट भएर लड्न आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार