१३ बैशाख २०८१, बिहीबार

धनगढीमा सडकमा उत्रियो अनेरास्ववियु, सरकार र भारतविरुद्ध प्रदर्शन



धनगढी/ नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले धनगढीमा सरकार र भारतविरुद्ध विरोध प्रदर्शन गरेको छ। आज (बुधबार) साझ धनगढीको पार्कमोडमा अनेरास्ववियुको जिल्ला कमिटीले सरकार र भारतविरुद्ध प्रदर्शन गरेको हो।

अनेरास्ववियुका जिल्ला अध्यक्ष किशोर शाहले एमाले र अनेरास्ववियुले आज ईतिहासकै कालो दिन मनाएको जानकारी दिए। उनका अनुसार विद्यार्थीहरु राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरणको विरूद्धमा आन्दोलित बनेका हुन्। यस्तै भारतले आइतवार ‘अखण्ड भारत’ भनेर सार्वजनिक गरेको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको क्षेत्रलाई समेटिएको विषयका विरुद्ध पनि अनेरास्ववियुले प्रदर्शन गरेको हो।

अखिलले अहिलेको सरकारले गेटामा चिकित्सा विश्वविद्यालय बनाउने भनेर निर्णय गरेकोमा बजेटमा प्रतिष्ठान बनाउने भनेर आएपछि सो विषयमा पनि अनेरास्ववियुले विरोध जनाएको हो।

सो कार्यक्रममा नेकपा (एमाले) कैलालीका अध्यक्ष दुर्गाप्रसाद जोशी लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । अध्यक्ष जोशीले नागरिकता विद्येयक खारेजी र गेटालाई स्वास्थ्य विश्वविद्यालय बनाउनु पर्ने माग गर्दे निरन्तर आन्दोलन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार