११ बैशाख २०८१, मंगलवार

गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन भोली अत्तरियामा चक्काजाम गरिने



धनगढी/कैलालीको गेटामा ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ खोल्ने घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रिपरिषद् बैठकले नै गरेको थियो तर बजेटमा विश्वविद्यालय नभएर प्रतिष्ठान बनाउने भनिएपछि कैलाली, कञ्चनपुरमा चर्को विरोध हुन थालेको छ ।

स्वास्थ्य विज्ञान विश्वविद्यालयको सपना बोकेका सुदूरपश्चिमवासी असन्तुष्ट बनेका छन् । स्थानीय स्तरमा गठित संघर्ष समितिले सरकारको बजेटविरुद्ध आन्दोलन नै गर्ने भएको छ । आन्दोलनमा जोडिएका छन् पूर्व सांसद डा. दिपकप्रकाश भट्टसमेतका राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारण जोडिएका छन् ।

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय खोल्नुपर्ने विषयमा लामो समयदेखि प्राज्ञिक वकालत गर्दै आएका डा. भट्ट बुधवार गोदावरी नगरपालिकामा भएको भेलामा पनि सहभागी भए ।

सरकारले विश्वविद्यालय नबनाउने भएपछि संघर्ष समितिले बोलाएको सामाजिक संघसंस्था र नागरिकको भेलामा सहभागी भएर उनले विश्वविद्यालय स्थापनाको आवश्यकता, कानूनी पक्ष र सम्भावनाबारे जानकारी राखेका छन् ।

भेलाले विश्वविद्यालय स्थापनाका लागि दबाब दिन भोलि बिहीवार बिहान बिहान ९ बजेदेखि १० बजेसम्म कैलालीको अत्तरिया चोकमा १ घण्टा चक्काजाम गर्ने निर्णय गरेको छ ।

पूर्व सांसद डा. भट्टले सामाजिक सञ्जालमा भेलाका तस्वीर राख्दै लेखेका छन्, ‘अब अभियान होइन, संघर्ष, कैलालीको गेटामा ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापनार्थ हाम्रो संघर्ष जारी छ ।

६०० बेडको संरचना तयार भएको छ । राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयकको मस्यौदा तयार भएको छ । १०० बेडको अस्पताल र प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गर्ने काम पश्चगमन हो । राजनैतिक दलाल र मेडिकल माफियाका विरुद्ध अब सचेत हुनुपर्छ । सुदूरपश्चिमका सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अनुरोध ।’
यसैवीच लोकराज पाण्डेय आगो नेतृत्वको सर्वपक्षीय संघर्ष समितिले अत्तरियामा बिहिबार बिहान ९ बजे देखि १० बजे सम्म चक्काजाम गर्न लागेको हो ।

समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलको आयोजना गर्दै गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ २०७९ माघ २९ गते भएको मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि दवाव दिन चक्काजाम गर्न लागेको जनाएको छ ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेले जेठ १५ गते बजेट भाषणमा मन्त्रिपरिदको निर्णय विपरित एक सय शैय्याको मेडिकल प्रतिष्ठान बनाउने निर्णयका विरुद्ध आन्दोलनका कार्यक्रम अन्तरगत चक्काजाम गर्न लागिएको बताए ।

उनले आन्दोलनका कार्यक्रम अन्तरगत जेठ १८ गते बिहान ११ बजे पछि प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताए ।

यस्तै आन्दोलनका कार्यक्रम अन्तरगत जेठ १९ गते विभिन्न राजनीतिक दलहरुसंग अन्तरक्रिया एवम् परामर्श गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

संघर्ष समितिले माग पुरा नभए जेठ १९ गते पछि पुनः थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा आन्दोलनका अगुवा आनन्द भट्ट लगायतले आन्दोलनको औचित्य बारे प्रस्टीकरण दिएका थिए । उनले आफूहरुको संघर्षमा सबै पक्षको साथ सहयोगका लागि अपिल पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार