४ बैशाख २०८१, मंगलवार

बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहेको छ ।

छलफलमा भाग लिदै प्रदेश सभा सदस्यहरुले शनिबार प्रस्तुत गरिएको सो सिद्धान्त र प्राथमिकता बजेटमा राखेर कार्यान्वन गर्नु पर्नेमा जोड दिए । मंललबारको छलफलमा भाग लिदै सत्तापक्ष नेपाली कांग्रेसका बहादुरसिंह थापाले आगामी बजेटमा विगतमका कमी कमजोरी र विकृति सच्चाउदै प्रदेशको समृद्धीका लागि इमान्दार प्रयास गर्न आग्रह गरे ।

नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामीले अहिले एमालेले विगतको प्रदेश सरकारले विकृति, विसंगति ल्याएको हो भन्नु गलत भएको चर्चा गर्दे विकृति थिए भने दुई वर्ष आठ महिना सरकारमा रहेका आफ्ना प्रतिनिधिलाई किन नियन्त्रण गर्न सकेन भनेर प्रश्न गरे । उनले सिद्धान्त र प्राथमिकता अनुसार काम हुनुपर्ने पनि बताए ।

नागरिक उन्मुक्ती पार्टीका खुसीराम डगौरा थारुले बसाईसराइ किन कैलाली केन्द्रीत भइरहेको छ त्यसमा ध्यान दिएर पहाड जग्गा जमिन खाली हुन नदिने गरेर बजेट विनियोजन हुनु पर्ने धारणा राखे । उनले घोडाघोडीलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने, किसानलाई कृषिमा लाग्ने प्रेरणा दिने गरेर कार्यक्रम आउनु पर्ने र सुस्त मनस्थितिका बालबालिकालाई ध्यान दिएर बजेट बन्नु पर्ने धारणा पनि राखे ।

सत्तापक्षकै नेकपा (एकीकृत समाजवादी) का प्रकाशबहादुर रावलले पछाडि परेका वर्ग, समुदायले हामीलाई समेटिएन भन्न नदिने गरेर बजेट ल्याउनु पर्ने र त्यसको कार्यान्वयन गर्नुपर्ने बताए । उनले सङ्घीय बजेटले सुदूरपश्चिमका मुख्य सडकमा कम बजेट विनियोजन भएकोमा दुःख प्रकट गरे । गेटालाई प्रतिष्ठान होइन स्वास्थ्य विश्वविद्यालयकै रुपमा अघि बढाउनु पर्ने गरेर पहल थालिनु पर्ने पनि उनले बताए ।

प्रदेशका निवर्तमान आर्थिक मामिलामन्त्री समेत रहनु भएका रावलले भएका कामको भुक्तानी रोक्न नहुने बताउदै कुनै सेटिङमा गलत काम भएको भए समयमै छानविन गर्नुपर्ने बताए ।

सत्ता पक्षकै ओमविक्रम भाट सरलले बजेटको सिद्धान्त र प्राथमिकतामा प्रदेशको अवस्था समेटेको बताउदै सुदूरपश्चिमका खप्तड, शुक्लाफाटा, अपि, साइपाल, पुरातात्विक र ऐतिहासिक दरवारमा पर्यटक धेरै ल्याउन विषेश कार्यक्रम ल्याउनु पर्ने, कृषिको अनुदानको अहिलेको तौरतरिका फरक बनाएर बजेट ल्याउन आग्रह गरे ।

प्रतिपक्ष दल नेकपा (एमाले) का चक्र मल्लले बाढी पहिरो पीडितका समस्यालाई ध्यानमा राखेर जनता आवास कार्यक्रम लागू गर्नुपर्ने बताए । उनले जनप्रतिनिधिलाई थाहै नदिएर विचौलियाको सहभागितामा झ्यालबाट योजना परे भनेर विगतमा सदनमै कुरा उठेकोले आगामी दिनमा त्यस्तो नहोस भनेर सचेत गराए ।

एमालेकै सुरेन्द्रबहादुर पालले सङ्घीयतालाई कमजोर बनाउने खेल भएकोले त्यसलाई निरुत्साहित बनाउनु पर्ने, पहाडी जिल्लामा घाम लागेमात्र सञ्चार सेवा सञ्चालन हुने अवस्था अन्त्य हुनु पर्ने माग राखे ।

प्रतिपक्षी दल राप्रपाका खेमा विष्टले प्रदेश सभामा प्रस्तुत बजेटको सिद्धान्त र प्राथमिकतामा लक्ष्य अनुसार राजश्व उठेन भनिएको छ किन, के कारण राजश्व उठेन स्पष्ट पारिनु पर्ने बताइन । उनले बजेटको सिद्धान्त र प्राथमिकता स्वागतयोग्य रहेको चर्चा गर्दे एकल महिला, सेनेटरी प्याड लगायतका विषयमा महिलालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताइन ।

२९ बुँदे बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा वा नियतमा अहिलेसम्म कुनै पनि आशंका नराखेको बताउदै स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले सरकार र सत्तारुढ प्रदेश सभाका सदस्यका प्राथमिकताको तालमेल नभएको देखिएको बताउनुभयो । अझै पनि समय भएकोले त्यो तालमेल मिलाउन पनि उहाँले आग्रह गरे ।

उनले सुदूरपश्चिमको ऐसुलु र किरमडाबाट पनि फाइदा लिन सकिने बताउदै उद्योग खोल्छौ भन्ने तर के खालको उद्योग खोल्ने, अनुसन्धान गर्ने केन्द्र, जनशक्ति, कच्चा पद्धार्थको सुश्चितताको कुरा खोइ ? भनेर प्रश्न गरे ।

छलफलमा प्रदेश सभा सदस्यहरु मानबहादुर रावल, शिवराज भट्ट, हिरा सार्की, मधुदेवी भारती, डम्मरी महरा, तुलसीदेवी देवकोटा, गीता चौधरी लगायतले भाग लिएका थिए ।

मुख्यमन्त्री र मन्त्रीले बैठकलाई महत्व दिएनन् : निवर्तमान मुख्यमन्त्री रावल
एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बजेटको सिद्धान्त र प्राथमिकतामाथि गम्भीर छलफल जारी रहँदा आर्थिक मामिलामन्त्रीलाई मात्रै बैठकमा राखेर मुख्यमन्त्री र अन्य मन्त्रीहरु बाहिरिएकोमा नियमापत्ति गरे ।

उनले, मुख्मन्त्री र मन्त्रीहरुले जनप्रतिनिधि मार्फत उठेका जनताका आवाज, रोक्न, छेक्न भाग्न खोजेको प्रदेश सभाको अपमान र तिरस्कार गरेको बताउदै उहाँहरुलाई बैठकमा बोलाउन निर्देशन हुनु पर्ने माग गरे । तर सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री र मन्त्री उपस्थित हुनुपर्छ निर्देशन भने दिएनन् ।

रावल लामो समय आफ्नै ठाउँमा उभिएपछि सभामुख भण्डारीले किन उठ्नु भएको हो । कुन विषयमा नियमापत्ति हो भनेर सोधेका थिए ।

माओवादीका प्रदेश सभा सदस्य मानबहादुर धामीले एमाले नेता रावलले गरेको नियमापत्ति नियमसंगत नभएको बताएपछि सभामुखले नियमसंगत नभएकैले त्यसको आफूले जवाफ नदिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार