१५ चैत्र २०८०, बिहीबार

बजेटका प्राथमिकता प्रस्तुत हुँदा मुख्यमन्त्री गैरजिम्मेवार नहुँन : एमाले



धनगढी / सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिबेशन शनिबार शुरु भएको छ । बजेट अधिबेशनको पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व भएका सबै दल र स्वतन्त्र प्रदेश सभा सदस्यले अधिबेशन सफलताको शुभकामना व्यक्त गरेका छन् ।

अधिबेशनको पहिलो दिनमै आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गरेका छन् । सामान्यतया अधिबेशनको पहिलो दिन शुभकामना मन्तब्य मात्रै राखेर बैठक स्थगित गर्ने चलन भएपनि शनिबारको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पनि प्रस्तुत गरिएको हो ।

बजेटका सिद्धान्त र प्राथमिकताहरु बजेट प्रस्तुत हुने दिन भन्दा २० दिन अगाडि नै प्रदेश सभामा पेश भइसक्नुपर्ने भएका कारण आजै प्रस्तुत गरिएको उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री रमेश धामीले बताए ।

आर्थिक मामिला मन्त्री शाहीले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरिरहँदा मुख्यमन्त्री कमलबहादुर शाह सदनबाट बाहिरिएपछि आफ्नै कार्यक्रम प्रस्तुत भइरहँदा पनि मुख्यमन्त्री सदन छोडेर जानु गैरजिम्मेवारीपन भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रदेश सभा सदस्य धर्मराज पाठकले ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभा सदस्य पाठकले सरकारले आफ्नो नीति तथा कार्यक्रमको जिम्मेवारी लिनुपर्ने बताउँदै मुख्यमन्त्री र मन्त्रीहरुलाई सभा बैठकमा उपस्थित पत्र लेख्न सभामुखलाई अनुरोध गरे । मुख्यमन्त्री शाह सभा बैठक शुरु हुने बेलामा सभामै रहेका थिए । सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु बोलिरहँदा बैठकमै रहेका मुख्यमन्त्री शाह आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दा सदन छोडेर हिँडिसकेका थिए ।

बजेटका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत हुनु अघि बोल्दै प्रुमख प्रतिपक्षी दलका नेता राजेन्द्रसिंह रावलले बजेट अधिबेशन हिउँदे अधिबेशन जस्तो नबनोस भन्दै सचेत गराए ।

उनले हिँउदे अधिबशेनले मुख्यमन्त्रीले विश्वास मत लिने कुरामै आफ्नो समयावधी पुरा गरेको र महत्वपूर्ण काम गर्न नसकेकोले बजेट अधिबेशनमा सरकारले सदनलाई बिजनेश दिनसक्नुपर्ने बताए । महत्वपूर्ण विधायकी काम हुनुपर्ने हिउँदे अधिबेशन सरकारले बिजनेश दिन नसकेका कारण पाँच महिना लामो अवधिमा जम्मा ९ वटा बैठक बस्दै सकिएको उनले बताए ।

बजेट अधिबेशनमा सत्तापक्ष नोपली कांग्रेसका बिक्रम सिंह धामी, नेकपा माओवादी केन्द्रका शिवसिंह ओली र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले पनि शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार