१५ चैत्र २०८०, बिहीबार

कैलालीको चुरेमा निःशुल्क स्वास्थ्य शिविर, गाउँघरका महिला लाभान्वित (भिडियो सहित)



धनगढी / कैलालीको चुरे गाउँपालिका–६ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा नम्बर ६ को बयालामा रहेको मेलकट्टेश्वर माध्यमिक विद्यालयमा शनिबार आइपास नेपालको सहयोगमा चुरे गाउँपालिकाको समन्वय तथा फाया नेपाल र सौभाग्य अस्पतालले संयुक्त रुपमा शिविर सञ्चालन गरेको हो ।

ग्रामीण बस्तीका महिला तथा बालबालिकालाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त वडाका २ सय ५० जनाले लाभ लिएका छन् । विशेषगरी घरायसी काम र आर्थिक अभावका कारण स्वास्थ्यमा समस्या हुँदाहुँदै उपचार गराउन नपाएका महिलाहरुले घरमै लाभ लिएका हुन् ।

शिविरमा सहभागी भएर स्वास्थ्य परीक्षण गराउदै औषधी समेत निःशुल्क पाएको बताउने स्थानीय ७० वर्षीया कृष्णा कार्कीले आफ्नै गाउँघरमा स्वास्थ्य अवस्था जाँच गर्ने अवसर मिलेको बताइन् ।

‘ढाँडको समस्याले उठन र बस्न सक्दैन । आज यहाँ शिविर सञ्चालन हुने थाहा पाएपछि छोराले चार घण्टाको पैदल दुरीमा मलाई पिठ्युमा बोकेर यहाँ ल्याएको हो । डाक्टर चेकजाँच गर्नुभयो । औषधी दिनुभएको छ,’ कार्कीले भनिन्, ‘धनगढी र भारतका ठूला अस्पतालमा उपचार गराउन पैँसा पनि छैन । घरको कामले छोराबुहारीको फुर्सद पनि हुँदैन ।’

बयालकी ६० वर्षीया लालमती थापाले घुडा र आँखा दुःख्ने समस्या भएको बताउदै टाढाको अस्पताल जान पैँसा नभएको कारण निःशुल्क स्वास्थ्यमा सहभागी भएर चेकजाँच गराएको बताइन् । ‘धेरै खुसी लाग्यो आज घर आँगनमै उपचार गर्न पायौँ ।

डाक्टरले दबाइ औषधी दिनुभएको छ,’ थापाले भनिन्, ‘निको नभएपछि फेरी उपचार गराउनुहोला भन्नुभएको छ ।’
शिविरमा स्वास्थ्य चेकजाँच गर्न पुगेकी ४२ वर्षीया सार्कीले लामो समयदेखि तल्लो पेट दुःख्ने समस्या भएपनि पैँसा अभावमा उपचार गर्न नसकेको तर शनिबारको शिविरमा उपचार गर्ने मौका पाएको बताइन् ।

उनले डाक्टरले पाठेघरको समस्या भएको हुनसक्ने बताउदै हप्ता दिनका लागि निःशुल्क औषधी दिएको र निको नभए थप चेकजाँच गर्न सल्लाह दिएको बताइन् । गाउँघरमै सेवा लिन पाउँदा खुसी लागेको उनको भनाई छ ।

२८ वर्षीया यमुना आउजीले डाक्टरले पाठेघरको समस्या भएकाले थप उपचारका लागि धनगढी आउन सल्लाह दिएको बताइन् । उनले लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएको तर उपचार गर्न अस्पातल जान नसकेको सुनाइन् । गाउँघरमै शिविर सञ्चालन भएका बेला चेकजाँच गरेर लाभ प्राप्त गर्दा खुसी लागेको बताइन् ।

गाउँका अधिकांश पुरुषहरु रोजगारीमा भारत र तेस्रोमुलुक रहेकोले महिला, बालबालिका र बृद्धबृद्धा मात्र उपचारका लागि स्वास्थ्य शिविरमा पुगेका थिए । स्वास्थ्य शिविरमा बिरामीको चेकजाँच गरेका डाक्टर विष्णुप्रसाद जैशीले स्त्री रोग, दम, पेट, टाउको, हाडजोर्नी सम्बन्धी समस्या भएका धेरै विरामी आएको बताए ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर संगिता बस्नेतले शिविरमा चेकजाँच गराउन आएका अधिकांश महिलाहरुमा तल्लो पेट, पाठेघर, पिसावको सङ्क्रमण जस्ता धेरै समस्या देखिएको बताइन् ।

बालरोग विशेषज्ञ डाक्टर नेहा रेग्मीले बालबालिकाहरुमा हार्डजोर्नी सम्बन्धी समस्या र विभिन्न खालका संक्रमण देखिएको बताइन् । उनकाअनुुसार गम्भीर प्रकृतिका लक्षण देखिएका बालबालिकालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने समान्य समस्या भएकालाई निःशुल्क औषधी दिइएको छ ।

सो शिविरमा हाडजोर्नी विशेषज्ञ डाक्टर मनोज भट्ट र नाक,कान, घाँटी विशेषज्ञ राघव सेढाइले बिमारीको चेकजाँक गरेका थिए । फाया नेपालका कार्यक्रम निर्देशक शेरबहादुर बस्नेतले महिला तथा बालबालिकालाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

उनले कैलाली सुगम जिल्ला भएपनि चुरे निकै दुर्गम गाउँपालिकाका रुपमा रहेको र यहाँका ग्रामीण बस्तीका मानिस आर्थिक अभावका कारण रोग पालेर बस्न बाध्य भएकाले उनीहरुको रोग पहिचान गर्न सघाउ पुगोस भनेर शिविर सञ्चालन गरिएको बताए ।

‘गाउँघरमा जोखिमपूर्ण काम गर्दा महिलाहरुमा आङ खस्ने, बालबालिकामा कुपोषण जस्ता समस्या हुने भएकाले शिविर चुरेमा सञ्चालन गरेका हौँ,’ बस्नेतले भने, ‘धेरै जनाले सहभागी भएर लाभ प्राप्त गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार