१५ चैत्र २०८०, बिहीबार

कानून पढाउने ‘मास्टर’ माग्दै टीकापुर क्याम्पसका विद्यार्थी दिनरात आन्दोदनमा, बेहोस् हुुन थाले




धनगढी / कैलालीको टीकापुर बहुुमुखी क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थी शिक्षकको माग गर्दै आन्दोलित भएका छन् ।

सुुुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस समेत रहेको टीकापुरमा २०७८ सालदेखि कानून संकायतर्फ एलएलबीको पढाउन थालिएपनि कानून विषयकै शिक्षक पदपुर्ति नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

एलएलबी तेस्रो संकायमा अध्ययनरत मनिषा चन्दले पहिलो सेमेष्टरदेखि नै कानून विषयको प्राध्यापक बिना अध्ययन गरिरहेको बताउदै अहिलेसम्म व्यवस्थापन नगरिएका कारण आन्दोलन गर्न बाध्य भएको बताइन् ।

उनकाअनुसार प्राध्यापकको माग गर्दै पहिलो सेमेष्टर र तेस्रो सेमेष्टरको विद्यार्थीहरुले संयुक्त रुपमा क्याम्पस परिसरमै धर्ना दिएका छन् । उनीहरुले शुक्रबार राति समेत क्याम्पसमा धर्ना दिएका छन् । चर्को गर्मीबीच दिनभर खुला आकाशमुनी धर्नामा बसेका विद्यार्थीहरुको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ ।

स्वास्थ्यमा समस्या देखिएका तीन जना मध्ये तेस्रो संकायमा अध्ययनरत ऋतु देवकोटालाई अस्पताल भर्ना गरिएको विद्यार्थी चन्दले बताइन् । उनी एक्कासी बेहोस भएर ढलेपछि शुक्रबार साँझ अस्पताल भर्ना गरिएको हो ।

क्याम्पसमा कानून विषयमा स्नातकोत्तर उत्र्तिण गरेको प्राध्यापकको व्यवस्था गरेर अध्यापन गराउनुपर्ने, मुुटकोटको व्यवस्था गर्नुपर्ने, पाठय्क्रममा उल्लेख भएका किताब पुस्तकालयमा उपलब्ध हुनुपर्ने माग विद्यार्थीहरुको छ ।

कानून विषयको शिक्षक नहुँदा अहिले शिक्षा संकायका प्राध्यापकले अध्यापन गराइरहेका छन् । विद्यार्थीहरुले शिक्षकको व्यवस्थापन गर्न नसकिने अवस्था भए सुदूरपश्चिमविश्वविद्यालयको केन्द्रीय क्याम्पस वा कैलाली बहुमुखी क्याम्पसमा स्थानान्तरण गरिदिन पनि माग गरेका छन् ।

टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले कानून संकायको प्राध्यापक पदपूर्तिका लागि आवेदन माग गरिएकोमा दुई जनाको मात्र दरखास्त परेको बताए । दुई मध्ये एक जनाले मात्र छनौट प्रक्रियामा भाग लिएर उत्तिर्ण समेत भइसकेको अवस्थामा ८ जेठमा अध्यापनका लागि आउन नसक्ने जानकारी दिएपछि समस्या भएको कुँवरले बताए ।

क्याम्पसले छनोट गरिसकेपछि अध्यापनका लागि आउन नसक्ने बताएपछि फेरी पदपूर्ति प्रक्रिया अघि बढाउने वा विद्यार्थीहरुलाई धनगढी र महेन्द्रनगर स्थानान्तरण गर्ने विकल्पका बारेमा विश्वविद्यालयका उपकुलपति र रजिष्टारसँग छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार