१४ बैशाख २०८१, शुक्रबार

बाजुरगडाबासीका मागैमाग, सिँचाइदेखि शिक्षासम्म, समस्या समाधानका लागि पूर्वमन्त्री सोडारीद्धारा प्रतिवद्धता



धनगढी/ कैलालीको चुरे पाउँपालिका -४ स्थित बाजुरागडाका स्थानीयहरुले सिँचाइको माग गरेका छन्। हिजो (शुक्रबार) धनगढीमा याक नेपालले आयोजना गरेको एक कार्यक्रममा उनीहरुले सो क्षेत्रका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री दीर्घ सोडारी समक्ष आफ्ना मागहरु राखेका हुन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत पर्ने बाजुरगडामा वर्षौंदेखि खानेपानी र सिँचाइको चरम समस्या छ। बाजुरगडामा २५ परिवार दलित, जनजाति ७ परिवार र ब्राहमण, क्षेत्री परिवार गरी जम्मा ४० परिवारहरु बसोवास गर्दछ्न्। सोही विषयलाई लिएर उनीहरु धनगढी पुगेका थिए। उनीहरुले प्रदेश सरकारले त्यहाँ आधारभूत आवश्यकता प्रत्याभूत गराउनुपर्ने माग राखेका छन्। यस्तै प्रदेश सभा सदस्य सोडारीले पनि आफूले सो क्षेत्रको विकासको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। हेम विष्ट नेतृत्वको संघर्ष समितिले सोडारीलाई मागपत्र बुझाएको थियो।

बाजुरगडामा विद्युत, विद्यालय तथा स्वास्थ्य उपचारको पनि समस्या रहेको बताइएको छ। त्यहाँ प्रति परिवार करिब ६ देखि १२ रोपनीको अनुपातमा भोगचलन गर्दै आएको जग्गा हालसम्म पनि दर्ता नभएका कारण राज्यको सेवा सुविधाबाट बन्चित छ।

बाजुरगडाका स्थानीयको प्रमुख पेशा कृषि भएतापनि सिचाईको सुविधा नभएका कारणले आफ्नो परिवारको लागि आवश्यक पर्ने खाद्यान्नको व्यवस्था नहुदा तथा उत्पादनले बढीमा तीन महिना मात्र खान पुग्ने अवस्थाले गर्दा आफूहरु खाद्य अधिकारबाट बन्चित हुनपर्ने अवस्था आएको स्थानीयहरुको भनाई छ।

यस्ता छन् मागहरु
सिचाईका लागी बुटिया नदीबाट ३२०० मिटर लामो सिंचाई कुलो व्यवस्थित गरिदिनुपर्ने, प्रयाप्त पिउने पानीको सुविधाको व्यवस्था गरिदिनु पर्ने।

समुदायमा बाल शिक्षा र सामुदायिक स्वास्थ्य इकाई अविलम्ब स्थापना गरिनुपर्ने। उपभोग गरिरहेको जग्गा दर्ता गरी लालपुर्जा उपलब्ध गराउनुपर्ने ।

समुदायमा सबैका लागि विद्युतको व्यवस्था हुनपर्ने। वर्षातको समयमा स्वस्थ्य सुविधा र विद्यालय जानबाट वन्चीत रहनुपर्ने अवस्था भएकोले भण्डारबखोला र खुटिया नदीमा पुलको व्यवस्था यथासिघ्र गरिनुपर्ने ।

महिलाहरुको जिवनस्तर अभिवृद्धिका लागि व्यवसायिकमुलक कार्यक्रम संचालन गरिनुपर्ने ।

व्यवसायिक र सिप विकास तालीमहरु जस्तैः माहुरीपालन, बाखा पालनका लागि सहयोग गरिनुपर्ने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार