१६ चैत्र २०८०, शुक्रबार

टहरा भत्काएपछि बिचल्लीमा पहिरो पीडित : अस्थायी बसोवासको खोजी गर्न सर्बदलीय टोली गठन



धनगढी/ कैलालीको चुरेका पहिरो पीडितको अस्थायी रुपमा बसोवासको व्यवस्थाका लागि गाउँपालिकाको सर्बदलीय टोली धनगढी पुगेको छ ।

वन कार्यालयले डोजर लगाएर उनीहरु बस्दै आएका टहरा भत्काएपछि बिचल्लीमा परेका पहिरो पीडितलाई तत्काल अस्थायी बसोवासको खोजीका लागि सो टोली धनगढीमा पुगेको हो ।

बुधबार पहिरो पीडितको व्यवस्थापनका लागि गाउँपालिकाको सर्बदलीय पहल समिति गठन गरेको छ । गाउँपलिकाका अध्यक्ष चक्रबहादुर बोगटीको संयोजकत्वमा पाँच सदस्यीय सर्बदलीय पहल समिति गठन गरिएको हो ।

समितिको सहसंयोजकमा गाउँपालिकाका उपाध्यक्ष धनादेवी थापा, सदस्यहरुमा क्रमशः टिकाराम ढुंगाना, बीरबहादुर साउँद, हर्क दमाई र चक्र विष्ट रहेका छन् ।

सो समितिले १५ दिनभित्र गाउँपालिका भित्र रहेका वास्तविक पहिरो पीडितको तथ्यांक संकलन गरी तत्काल राहत र व्यवस्थापनका लागि पहल गर्ने जनाइएको छ । २०७६ सालमा पहिरोले विस्थापित भएर चुरे–४ को पनेरुगडा र टाँकगडाको वन क्षेत्रमा अस्थायी रुपमा बस्दै आएका उनीहरुका टहरा वन कार्यालयले भत्काएपछि बिचल्लीमा परेका छन् ।

चुरे गाउँपालिका, स्थानीय प्रशासन र सामुदायिक वनसँगको समन्वयमा पहिरोबाट विस्थापित भएकाहरु पनेरुगडा र टाँकगडाको सामुदायिक वन क्षेत्रमा लालाबालासहित बसोबास गरिरहेका थिए ।

उनीहरु बस्दै आएको टहरा भत्काउनुको साथै आगजनी गरिएपछि उनीहरुले आफूहरुको व्यवस्थापन गरिदिनुपर्ने माग राखेका छन् । वन कार्यालयले पहिरो पीडितहरुको उचित व्यवस्थापनप्रति ध्यान नदिई टहरामा आगजनी गरी बिचल्लमिा पारेको पिडीतहरुको गुनासो छ ।

चर्को गर्मीयामसँगै वर्षाको बेला आउनै लाग्दा टहरामा आगजनी गरिएपछि पहिरो पीडित कष्टकर जीवन विताउन बाध्य भएको बासुदेव बमको दुखेसो छ । उनले ४ बर्षदेखि बस्दै आएको टहरामा डोजर र आगलागी गरेर बिचल्ली बनाएको बताए ।

सरकारले पहिरो पीडितको उचित बसोबासको ब्यवस्था गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष धनादेवी थापाले बताइन् । चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले वास्तविक पहिरो पीडितको व्यवस्थापन गरिदिन प्रदेश र संघीय सरकारसँग पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरिएको बताए ।

वन कार्यालयले डोजर लगाउन भन्दा अगाडि समेत उनीहरुको व्यवस्थापन गरिदिन आग्रह गर्दा पनि वेवास्ता गरिएको बताउँदै अध्यक्ष बोगटीले वास्तविक पीडितको पहिचान गरेर व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार