१५ चैत्र २०८०, बिहीबार

नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिउँ : ज्ञानेन्द्र शाह



धनगढी/ पूर्वराजा ज्ञानेन्द्र शाहले धनगढीमा नागरिक अभिनन्दनका क्रममा उनले भोलिको नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिन पनि अपिल गरेका छन्। उनले सोझासाझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च खुल्दै गएको बताएका छन्।

उनले सोमबार नागरिक अभिनन्दनका क्रममा भने- देशभित्रै बसौं, देशमै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ। उनले भने नेपाली जनतालाई आफ्नो भू – भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरब सबै लोप भएर गएको छ ।

उनले ‘नयाँ नेपाल’प्रति व्यंग्य गर्दै प्रश्न गरेका छन्-  के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको पराबलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?

उनले नेपालको दारुण दृश्य देख्दा सबैको आँखा रसाउँदै गएको उल्लेख गर्दै आजको युग विकास र प्रविधिको भएको तथा आफ्नै श्रोत साधन र आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा नेपालीले आफ्नो युगानुकूल उन्नति चाहेको बताएका छन्।

उनले भनेका छन्- ‘सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अँगाल्ने ? सोचौं गहिरिएर सोचौं ,अझ दिलैदेखि सोचौं, नेपाली भएर सोचौं, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौं , देशभन्दा ठूलो अरु केही हुँदैन।’

उनले नेताहरुप्रति इंगित गर्दै भने- ‘आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर , अरुलाई अल्मल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिदैन । भोलिको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावना अनुसार – नेपाली जनतालाई नै जिम्मा दिउँ – यसैमा हाम्रो कल्याण छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार