२ जेष्ठ २०८१, बुधबार

उन्मुक्तीले भागभण्डा नस्वीकार्दा मन्त्रीमण्डल विस्तार हुन सकेन



धनगढी/ नागरिक उन्मुक्ती पार्टी भागभण्डामा सहमत नहुँदा सुदूरपश्चिम सरकार बिस्तारमा ढिलाइ भएको छ ।

उन्मुक्तीले एउटा मन्त्रालय मात्रै पाउने भएपछि असन्तुष्टी जनाएको हो । उन्मुक्तीले शनिबारसम्ममा सरकारमा जाने वा नजाने निर्णय गर्ने बताएपछि शुक्रबारको मन्त्रीमण्डल विस्तारको कार्यक्रम रोकिएको हो ।

सरकार स्रोतका अनुसार शनिबार उन्मुक्तीसंगको कुरा नमिले पनि मन्त्रीमण्डल विस्तार हुने छ । उन्मुक्तीलाई कृषि मन्त्रालय दिने भनिए पनि सो पार्टीले सामाजिक विकास मन्त्रालय पनि मागेको छ ।

शुक्रबार दिउँसो पनि सत्ता गठवन्धनको बैठक बसेको थियो । बैठकले भोली बिहान १० बजे शपथ ग्रहण गर्ने निर्णय गरेको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

अहिले चार मन्त्रालय अहिले मन्त्री विहीन छन् । आज चारमध्ये दुई माओवादी, एक काँग्रेस र एक उन्मुक्तीलाई दिने तयारी थियो । मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न नसकेको हो ।

माओवादीले उद्योग, वन तथा वातावरण मन्त्रालयमा रमेश धामी र सामाजिक विकासमा झपट साउदलाई बनाउने निर्णय गरेको थियो । यस्तै सोही पार्टीका गीता माललाई राज्यमन्त्री बनाउने निर्णय गरिएको थियो ।

नेपाली कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने बताइएको थियो तर उन्मुक्तीका कारण आज शुक्रबार मन्त्रीमण्डल विस्तार हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार