७ पुष २०८१, आईतवार

हिमपहिरोमा परेका आमाछोरा सहित तीनको शव भेटियो



धनगढी / दार्चुलाको व्याँस गाउँपालिका–१, भोलेनमा मंगलबार दिउँसो हिमपहिरो खस्दा वेपत्ता भएका पाँच जना मध्ये तीन जनाको शव फेला परेको छ ।

दार्चुला दुहँ गाउँपालिका–४, का १८ वर्षीय प्रवीण कुँवर, उनकी आमा ३६ वर्षीय कमला कुँवर र डोटीको जोरायल गाउँपालिका–२, बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले बताए ।

अझै वेपत्ता रहनेमा दार्चुला दुहँु गाउँपालिका–४, कि १५ वर्षीय छिमी साम्मो थापा र २८ वर्षीय ईश्वरी थापा रहेका छन् ।
फेला परेका शव घटनास्थलभन्दा अन्दाजी छ सय मिटर पर खोल्सामा भेटिएका हुन् । उनीहरुको शव भोली हेलिकोप्टरबाट लिने कि भारतको सडकमार्गबाट भन्ने गृह मन्त्रालयले निर्णय गर्ने पनि प्रनाउ पाण्डेयले बताए ।

प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार वर्षा र हिमपात रोकिएको छैन त्यसले गर्दा पनि वेपत्ताको खोजी कार्यमा कठिनाइ भएको छ । वेपत्ताको खोजी कार्यमा सशस्त्र प्रहरी बल नेपालका ३० जना र नेपाल प्रहरीका पाँच जना गरेर ३५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन् ।

मंगलबार अपरान्ह व्यास गाउँपाकिला–१, नाम्पा पाटन नजिकको भोलेनमा भन्ने स्थानमा यार्चागुम्बा संकलनका गएका १३ जना त्रिपाल टागेर बसेका बेला माथिबाट हिमपहिरो आएको थियो ।

पहिरोमा हराएको भनिएकामध्ये दुहुँ गाउँपालिका वडा नम्बर ४ पोक्से बस्ने ३६ वर्षीया कलावती कार्की, १८ वर्षीय अर्जुन कार्की, डोटी जोरायल गाउँपालिका–२, बुडरका ३६ वर्षीय फुर्पा थापा, डोटीकै २६ वर्षीय छप्तेन थापा , २६ वर्षीय पासाङ छुम्तेल विष्ट, ३१ वर्षीय थुतेङ थापा, हुम्ला जिल्ला लाखा गाउँपाकिला– ५,का २० वर्षीय लाक्या ग्याल्बु तामाङ र दार्चुला नौगाड गाउँपालिका–२, दल्लेखका ५० वर्षीय ललितसिंह विष्ट भने मंगलबार साँझ नै सम्पर्कमा आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार