१७ बैशाख २०८१, सोमबार

भूमिहीनका लागि घर निर्माण




धनगढी/ कञ्चनपुरको वेदकोट नगरपालिका–५, धरमपुरमा सिमान्तकृत भूमिहीन, दलित तथा मुक्त कमैयाँ परिवारका लागि घर निर्माण भएका छन् । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री सुरक्षित आवास कार्यक्रमअन्तर्गत धरमपुरमा २५ वटा नयाँ घर निर्माण भएका छन् ।

धरमपुरमा यसअघि १८ वटा घर निर्माण भइसकेका छन् । मुख्यमन्त्री सुरक्षित आवास कार्यक्रम अन्तर्गत धरमपुरमा ८४ वटा घर निर्माण हुने बताइएको छ । दुई कोठा, एक बरण्डा र सौचालय र जस्तापाताको छानासहितको पक्की घर निर्माणमा प्रदेश सरकार, ह्याविट्याट फर ह्युमिनिटी नेपाल र राष्ट्रिय दलित नेटवर्क (आरडिएन) आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।
प्रत्येक घर निर्माणका लागि प्रदेश सरकारले चार लाख एक हजार रुपैयाँ अनुदान दिएको छ । भने राष्ट्रिय दलित नेटवर्क र ह्याविट्याट फर ह्युमिनिटी नेपालको एकमुष्ट २६ लाख रुपैयाँ र प्राविधिक सहयोग तथा सामाजिक परिचालन सहयोग रहेको छ । त्यस्तै, समुदायबाट अदक्ष कामदार र स्थानीय स्रोत साधन योगदान रहेको छ ।

धरमपुरमा आवास घर निर्माणको २०७७ साल पुसदेखि सुरु भएको थियो । एक वर्षभित्र काम पुरा गर्ने गरी ठेक्का सम्झौता भएको भए पनि गत फागुनमा २५ वटा घर निर्माण भएका छन् ।

धरमपुरमा मुख्यमन्त्री सुरक्षित आवास कार्यक्रमको मंगलबार गरिएको सामाजिक लेखापरीक्षण कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अधिकृत धर्मराज ओझाले धरमपुरमा भूमिहिन, दलित तथा मुक्त कमैयाँका लागि आवास घर निर्माणका लागि प्रदेश सरकारले एक करोड १६ लाख रुपैयाँमा ठेक्कासम्झौता गरेको जानकारी दिए । उनले निर्माण कम्पनीले ढिलाई गरेका कारण घर निर्माण कार्यमा एक वर्ष बढी समय लागेको बताए ।

उनले धरमपुरमा नमुना वस्ती निर्माणका लागि जनता स्वयं पनि अग्रसर हुन आग्रह गरे । उनले भने– श्रमदानले घरप्रति तपाईंहरूको स्वामित्व भाव बढ्छ । सरकारले जग्गा धनी पुर्जा पनि धरमपुरबाट नै सुरुवात गर्ने छ । उनले वस्तीमा सडक, पानी, विद्युत लगायतका सुविधाको प्रबन्ध स्थानीय सरकारले गर्ने विश्वास व्यक्त गरे ।

सामाजिक लेखापरीक्षणमा वडा ५ का अध्यक्ष चित्रदेव भट्टले प्रत्येक घरमा भान्सा कोठाको पनि व्यवस्था गरिने आश्वासन दिए । उनले वस्तीमा माटो भरान, खानेपानीका लागि तत्काल डिप बोरिङ जडान तथा रोजगारीका लागि सीपमुलक तालिम कार्यक्रम सञ्चालन गरिने बताए ।

वडा ५ का निवर्तमान अध्यक्ष गणेश विकले १५÷१६ वर्षदेखि अव्यवस्थित रुपमा बसोबास गरिरहेका भूमिहीन, सुकुम्बासी, दलित तथा मुक्त कमैयाँहरूलाई व्यवस्थित गर्ने प्रयासस्वरुप आवास निर्माण कार्यक्रम सञ्चालन भएको बताए ।
उनले वस्तीका लागि सुद्ध खानेपानी सुविधा पुराउन खानेपानी योजना निर्माण भइरहेको र केही समयभित्रै पानी वितरण हुने बताए ।

आरडिएनका महासचिव मोहन वडले वस्तीमा खानेपानी, सडक, शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि पहल गरिने बताए । उनले आरडिएनले प्रदेश तथा स्थानीय सरकार, ह्याविट्याट तथा समुदायसँगको समन्वय र सहकार्यमा नमुना वस्ती निर्माणका लागि पहल गरिरहेको बताए ।

ह्याविट्याट फर ह्युमिनिटी नेपालका अधिकृत राममणी चौधरीले ८४ मध्ये हालसम्म ४३ वटा घर निर्माण भइसकेको र सबै घर भूकम्प प्रतिरोधी, हावाहुरी प्रतिरोधी र आगलागीको जोखिममुक्त रहेको बताए ।

सामाजिक लेखा परीक्षणमा सहभागीहरूले वस्तीमा रहेका रुखहरूका कारण जोखिम रहेको, डुबानको समस्या रहेको, खानेपानीको अभाव, भान्साकोठाको समस्या लगायतका समस्या प्रस्तुत गरेका थिए । सहभागीहरू अनिता डँगौरा, रतिलाल डँगौरा, सिमा डँगौरा लगायतले जग्गा धनी पुर्जा चाडो वितरण गर्न तथा सडक लगायतका समस्या सम्बोधन गर्न आग्रह गरे ।

कार्यक्रमको सञ्चालन आरडिएनका कार्यक्रम अधिकृत नित्यानन्द जोशीले गरेका थिए । उनले केही दिनभित्रै घरहरू औपचारिक रुपमा धरधनीलाई हस्तान्तरण गरिने जानकारी दिए । कार्यक्रम बडघर बालमति चौधरीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार