१७ बैशाख २०८१, सोमबार

शैक्षिक क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयको उल्लेख्य प्रशंसनीय– प्रधानमन्त्री प्रचण्ड





कञ्चनपुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शैक्षिक क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयको योगदान रहेको बताएका छन् । उनले सुदूरपश्चिम प्रदेशको शिक्षा लगायतका क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको दोहोराए ।

आइतबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रोे दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्रीकालमा नै विश्वविद्यालयका फाइल अघि बढाएको चर्चा गरे । विश्वविद्यालयका कुलपतिसमेत प्रधानमन्त्री प्रचण्डले भने– म पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालयको फाईल अघि बढाएको थिए । त्यस्तै, मेरो दोस्रो कार्यकालमा विश्वविद्यालयको नीतिगत तथा संरचनागत सुधारका लागि महत्वपूर्ण निर्णय भएका थिए ।

उनले सरकारले अघिल्लो वर्ष माघ १० गते डडेल्धुरामा सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई आंगिक संकायका रुपमा रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा विज्ञान एवं प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता स्मरण गरे ।

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट लोकतान्त्रिक मूल्यमान्यताका पक्षमा बलियोसँग उभिने, नयाँ खोज, अनुसन्धान र विकासको गतिलाई अगाडि बढाउन सक्ने, आर्थिक तथा सामाजिक रुपान्तरण प्रक्रियालाई सही ढंगले अगाडि बढाउन सक्ने जनशक्ति उत्पादनमा केन्द्रीत हुन आग्रह गरे । भने– हामीलाई सिर्जनात्मक तथा युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक छ । विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने सक्षम जनशक्ति आवश्यक छ ।

दीक्षान्त समारोहमा भारतको उत्तर प्रदेशस्थित महात्मा ज्योतिबा फूले रुहेलखण्ड विश्वविद्यालयका कुलपति प्राध्यापक केपी सिंहले सुदूरपश्चिम विश्वविद्यालयले छोटो समयमा गुणस्तरीय जनशक्ति उत्पादन गर्न सफल भएको बताए । प्राध्यापक सिंहले भने– हामी यो विश्वविद्यालयसंग सहकार्य गर्न तत्पर छौ । यो विश्वविद्यालयका विद्यार्थीलाई हाम्रो विश्वविद्यालयमा छात्रवृत्तिको व्यवस्था हुने छ ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सुदूरपश्चिम विश्वविद्यालयलाई मुलुककै उत्कृष्ट विश्वविद्यालय बनाउने गरी काम गर्न आग्रह गरे ।

दीक्षान्त समारोहमा एक सय ७९ जना विद्यार्थी सहभागी रहेका थिए । विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले दीक्षान्तका लागि आठ सय ५५ जना योग्य रहे पनि एक सय ७९ जनाको मात्र आवेदन आएको जानकारी दिए ।

समारोहमा एकजना विद्यार्थीलाई चान्सलर, एक जनालाई भाइस चान्सलर र १० जना विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरिएको थियो ।

१६ वटा आंगिक क्याम्पस रहेको सुदूरपश्चिम विश्वविद्यालयमा हाल १५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । २०६८ सालमा मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले २०७१ सालदेखि शैक्षिक कार्यक्रमहरू अघि बढाएको थियो । सुदूरपश्चिम विश्वविद्यालयमा इन्जिनियरिङ, कृषि, कानुन, व्यवस्थापन लगायतका विषयमा अध्यापन हुने गरेको छ । पछिल्लो पटक डडेल्धुरा मेडिकल कलेज सञ्चालनका लागि मेडिकल संकायका साथै डिन समेत नियुक्ति गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार