१५ बैशाख २०८१, शनिबार

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु



झमक घिमिरे बद्रि–कृष्णा बाङ्गमय पुरस्कारद्वारा सम्मानित विभिन्न समुदायका मौलिक सांस्कृतिक प्रस्तुति२३ जनालाई पुरस्कारद्वारा सम्मान

धनगढी/ धनगढीमा शुक्रबारदेखि विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित महोत्सव आगामी १३ गतेसम्म चल्ने छ ।

महोत्सवको भव्य कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे ।

महोत्सवमा विलक्षण साहित्यिक सर्जक झमक कुमारी घिमिरेलाई बद्रि–कृष्णा बाङ्गमय पुरस्कार, २०७९ द्वारा सम्मान गरियो । पुरस्कारको राशी एक लाख ११ हजार १११ रुपैयाँ रहेको छ । मुख्यमन्त्री शाहले झमकलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र अर्पण गरे ।

त्यस्तै, बरिष्ठ साहित्यकार सनत रेग्मी (नेपालगन्ज), लाई बद्रि–कृष्णा बाङ्गमय पुरस्कार, २०७८ र साहित्यकार नवराज लम्साल (काठमाडौं), प्रभाष राज्यलक्ष्मी कृति पुरस्कारद्वारा सम्मान गरियो । प्रभाष राज्यलक्ष्मी कृति पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, सिक्किम भारतका साहित्यिक स्रष्टा मीना सुब्बा र जगन्नाथ उपाध्यायलाई २५ हजार रुपैयाँ राशीको लोचन साहित्य पुरस्कारद्वारा सम्मान गरियो ।

महोत्सवमा साहित्य समाजद्वारा स्थापित विभिन्न १८ पुरस्कारद्वारा देश र विदेशका २३ जना साहित्यकारहरूलाई सम्मान गरियो ।
आयोजक संस्थाका अनुसार महोत्सवमा भारतका विभिन्न राज्य तथा अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट दुई सय बढी साहित्यिक स्रष्टाहरूको सहभागिता रहेको छ । महोत्सवमा चार दिनसम्म विभिन्न २४ वटा शिर्षकमा साहित्य संवाद सञ्चालन हुनेछन् ।

महोत्सव उद्घाटनका क्रममा सुदूरपश्चिम प्रदेशका प्रशिद्ध पञ्चेबाजा, गौरा, दार्चुलाको छलिया, बझाङको भुवो, डोटीको हुड्केली, अछामको रनपुतला, रानाथारुको होली र डगौंरा थारुको लठौवा प्रस्तुत भएका थिए ।

महोत्सव उद्घाटनका क्रममा मुख्यमन्त्री शाहले महोत्सवले सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वभर फैलाउन अहम् योगदान पुर्याउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री शाहले भने– हाम्रो कला सँस्कृति, पहिचान, प्राकृतिक स्रोत र साधनको उपयोगमा साहित्य तथा कलाको अहम् भूमिका छ ।

उनले प्रदेश सरकारले साहित्यिक महोत्सवको अभिभावकत्व ग्रहण गरेको र प्रदेशको भाषा, साहित्य, कला र संस्कृतिको सम्वद्र्धनमा सरकार दीर्घकालीन योजनासहित अग्रसर हुने बताए ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापा, पूर्व प्रदेशमन्त्री तथा नेकपा एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी, प्रदेश सांसदहरू लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रामलाल जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । संस्थाका महासचिव गणेश नेपालीले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा महोत्सव संयोजक यज्ञराज उपाध्यायले धन्यवाद ज्ञापन गरेका थिए ।

साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।

पञ्चेबाजा



दार्चुलाको महिला छलिया

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार