१४ बैशाख २०८१, शुक्रबार

नेपाल एक दिवसीय क्रिकेट विश्वकप छनोटमा पुग्यो




आइसीसी लिग टूको अन्तिम खेलमा युएईलाई हरायो
नेपालको अभुतपूर्व प्रदर्शन
१२ खेलमध्ये ११ मा विजयी

धनगढी/ नेपालले एकदिवसीय विश्वकप क्रिकेट छनोटमा स्थान बनाएको छ । नेपालमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराएपछि नेपालले एकदिवसीय क्रिकेट विश्वकपको छनोट चरणमा स्थान बनाएको छ ।

घरेलू दर्शकको भारी भिड र हुटिङबीच बिहीबार काठामाडौंको कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा भएको लिगको अन्तिम खेलमा नेपालले युएईंलाई डिएल मेथडका आधारमा नौ रनले हराएर एक दिवसीय विश्वकपको छनोटको चरणमा प्रवेश गरेको हो ।

बिहीबारको खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट क्षतीमा तीन सय १० रनको विशाल स्कोर खडा गर्यो ।

जवाफमा नेपालले ४४ ओभरमा ६ विकेट क्षतिमा दुई सय ६९ रन बनाएको वेला कमजोर प्रकाशका कारण खेल रोकियो । र, खेललाई डिएल मेडथका आधारमा निर्णय गरियो । सो मेथडका आधारमा नेपाललाई नौ रनले विजयी घोषणा गरियो । जीतसँगै नेपाल ४० अंकका साथ आइसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिएको छ ।

तीन सय ११ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको नेपालको सुरुवात भने खराब रह्यो । प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख पहिलो ओभरमै सून्य रनमा आउट भए । कुशल मल्ल पनि पाँच रनमा पवेलियन फर्किए भने कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए ।

३७ रनमा तीन विकेट गुमाएर अफ्ठेरामा परेको नेपाललाई कुशल भूर्तेल, भीम सार्की, आरिफ शेख र गुलशन झाले विजय गराउन अहम् भूमिका निर्वाह गरे । कुशल र भीमले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । ३५ रनमा चार छक्का र तीन चौका हिर्काउँदै कुशलले अर्धशतक (५० रन) बनाए ।

कुशल आउट भएपछि मैदानमा ओर्लिएका आरिफ शेखले पाँचौ विकेटका लागि भीमसँग ८३ रनको महत्वपूर्ण साझेदारी गरे । ३१ औं ओभरको अन्तिम बलमा एलबीडब्लूको धरापमा पर्नुअघि भीमले ७६ बलमा ९ चौका हिर्काउँदै ६७ रन बनाए ।
आरिफले ६२ बलमा दुई चौकासहित ५२ रन बनाए । भने गुलशनले ४८ बलमा दुई छक्का र चार चौकासहित अविजित ५० रन बनाए ।

४१ औं ओभरसम्म नेपालले ६ विकेट क्षतीमा २३५ रन बनाएको थियो । ४२ औं ओभरमा प्रवेश गर्यो । ४२ औं ओभरमा गुल्सनले तीन चौका र एक छक्का प्रहार गरेपछि खेल नेपालको पक्षमा आयो । सो ओभरमा नेपालले २० रन थपेको थियो ।
खराब मौसमका कारण थप दुई ओभरपछि खेल रोकियो । यतिवेला नेपालको स्कोर ६ विकेटमा दुई सय ६९ रहेको थियो । खेल रोकिएपछि डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी बन्यो ।
यसअघि पहिले ब्याटिङ गरेको यूएईको सुरुवात पनि खराब रह्यो । युएईका आर्यन लक्रा ६ रनमा आउट भए । त्यसपछि खेल सम्हाल्दै मुहम्मद वसिम र भृत्य अरविन्दले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । वसिमलाई १६ औ ओभरमा ६३ रनमा आउट भए । १३८ रनको सामना गरेका भृत्यले आठ चौका र दुई छक्कासहित ९४ रन बनाए ।

आसिफ खानले एक सय एक रन बनाए । धुँवाधार ब्याटिङ गर्दै उनले जम्मा ४२ बलमा ११ विशाल छक्का र चार चौका सहित एक सय एक रन बनाएका थिए ।

आइसिसी लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ । यसअघि नेपालले अघिल्ला दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको थियो ।

बिहीबारको जितसँगै नेपाल लिग–२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । नेपालले ३६ खेलबाट ४० अंक जोडेको छ । नामिबियाको ३९ अंक मात्र रहेको छ ।

नेपालले लिग–२ का पछिल्ला १२ खेलमध्ये ११ खेल जितेको हो । एक महिनामा लिग–२ को अंक तालिकाको छैटौं स्थानमा तेस्रो स्थानमा उक्लिएको नेपालले अघिल्लो महिना १८ अंक मात्र बनाएको थियो
आगामी जुनमा १० टिमबीच जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा लिग–२ बाट स्कटल्यान्ड, ओमान र नेपाल पुगेका छन् ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालका पछिल्ला १२ खेल

युएईमाथि डिएल मेथडमा ९ रनको जित, कीर्तिपुर, १६ मार्च २०२३
पिएनजीमाथि ९ विकेटको जित, कीर्तिपुर, १३ मार्च २०२३
युएईमाथि १७७ रनको जित, कीर्तिपुर, १२ मार्च २०२३
पिएनजीमाथि ५२ रनको जित, कीर्तिपुर, ९ मार्च २०२३
युएईमाथि ४२ रनको जित, दुबई, ६ मार्च २०२३
पिएनजीमाथि ३ विकेटको जित,दुबई, ३ मार्च २०२३
युएईसँग ६८ रनले पराजित, दुबई, २ मार्च २०२३
पिएनजीमाथि ४ विकेटको जित, दुबई, २७ फेब्रुअरी २०२३
स्कटल्यान्डमाथि २ विकेटको जित, कीर्तिपुर, २१ फेअरी २०२३
नामिबियामाथि ३ विकेटको जित, कीर्तिपुर, १८ फेब्रुअरी २०२३
स्कटल्यान्डमाथि ३ विकेटको जित, कीर्तिपुर, १७ फेब्रुअरी २०२३
नामिबियामाथि २ विकेटको जित, कीर्तिपुर, १४ फेब्रुअरी २०२३
तस्वीर, सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार