१६ चैत्र २०८०, शुक्रबार

एसपिएको रजत जयन्ती : महिला क्रिकेटर तथा अन्यलाई सम्मान गरियो




धनगढी/ धनगढी उपमहानगरपालिका–२ मा रहेकोे सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए कलेज) को रजत जयन्ती शुक्रबार विविध कार्यक्रमसहित मनाइएको छ । रजत जयन्तीका अवसरमा एसपिएले महिला क्रिकेटर तथा अन्य व्यक्तिहत्वहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा केही महिनाअघि भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सहभागी सुदूरपश्चिम प्रदेश टोलीका चार जना महिला क्रिकेटरहरूलाई सम्मान गरियो । सुनसरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले उपाधि जितेको थियो ।

कार्यक्रममा महिला क्रिकेटरहरू कविता कुँवर, ईश्वरी बिष्ट, मनिषा चौधरी र रुवि पोदारलाई सम्मान गरियो ।
त्यस्तै, कराँते खेलाडी कमल ओलीलाई पनि सम्मान गरियो । एपिएमा अध्ययनरत कमलले दुईवर्षअघि मलेसियामा भएको पाँचौ गोजुरियो विश्व कराँते च्याम्पियनसीपमा रजत पदक जितेका थिए ।

कार्यक्रममा एसपिएका पूर्ण क्याम्पस प्रमुखहरू हेमराज जोशी, पुष्पराज जोशी, शिवराज श्रेष्ठ र मोहनराज भट्टलाई पनि सम्मान गरियो । सो अवसरमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, एसपिए कलेजका अध्यक्ष योगेन्द्रबहादुर शाही, कलेजका प्रबन्ध निर्देशक सुवाश शाही र क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित व्यक्तित्वहरूलाई सम्मापत्र प्रदान गरे ।

त्यस्तै, शिक्षाविद् प्रा.डा. हेमराज पन्त, गेटा आँखा अस्पतालका निर्देशक डाक्टर सुरेश पन्त, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, पूर्व विद्यार्थी पूर्णानन्द जोशी, राजकुमारी महतो, अमेरिकी कर्नर, धनगढी, पुनर्बास नगरपालिका उपमेयर भूलिया रानालाई कदरपत्र र दोसल्लासहित सम्मान गरियो ।

त्यस्तै कलेजका सहायक प्राध्यापक बुधबार चौधरी र लाइब्रेरियन कृष्णा जोशीलाई नगद पुरस्कार र दीर्घ सेवा पदक प्रदान गरियो । एसपिएका उपप्राध्यापक सुशीला चन्द, उपप्राध्यापक रघुनाथ जोशी र सहायक प्रशासक तारा बलायरलाई पनि नगद पुरस्कार र सम्मानपत्र प्रदान गरियो ।

रजत जयन्तीका अवसरमा रामसेवक चौधरी, यज्ञराज जोशी, भरत जोशी, दीपेन्द्र जोशी, टिकेश्वरी शर्मा र तोयनाथ पन्तलाई उत्कृष्ट प्राध्यापक र कर्मचारी अवार्ड प्रदान गरियो ।

रजत जयन्ती समारोहमा एसपीएको थियटर एण्ड आर्टस क्लवलाई उत्कृष्ट क्लव अवार्ड प्रदान गरियो । एसपिएमा १५ वटा क्लव गठन भएका छन् ।

कार्यक्रममा अभिभावकहरू धर्मदेव न्यौनाल र रुपेश खरालको अभिनन्दन गरियो । एसपिएका पूर्व क्याम्पस प्रमुख शिवराज श्रेष्ठद्वारा स्थापित अक्षय कोषबाट कलेजका सहायक लेखापाल मानबहादुर रावललाई शिव बिमा उत्कृष्ट कर्मचारी पुरस्कार र शिखा गौतमलाई उत्कृष्ट विद्यार्थी पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा नौलो उडान फाउन्डेशनले रजत जयन्तीका अवसरमा अर्जुन बाग र लक्ष्मी कुँवरलाई छात्रवृत्ति प्रदान गरेको छ ।
त्यस्तै, पूर्णनन्द गरिब तथा जेहोन्दार विद्यार्थी छात्रवृत्ति कृष्ण बोहरा र कविता भट्टलाई प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार