२९ बैशाख २०८१, शनिबार

खडगप्रसाद गौचन यु–१९ क्रिकेट कप,
डिसिए तेस्रो जीतसँगै फाइनलमा प्रवेश




धनगढी/ निशान रेग्मीको आकर्षक शतक र सौर्य श्रेष्ठको सात विकेटसँगै भैरहवामा जारी खडगप्रसाद गौचन अण्डर १९ क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डिसिए) फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा डिसिएको यो लगातार तेस्रो जीत हो ।

आज बुधबार भएको खेलमा डिसिएले देवदह क्रिकेट एकेडेमीलाई दुई सय ९३ रनको फराकिलो रन अन्तरले हरायो ।
टस जिते पहिले ब्याटिङ गरेको डिसिएले निशानको एक सय १३ रन तथा अजय कडालको ६३ रनसँगै ४० ओभरमा आठ विकेट गुमाएर तीन सय १५ रनको विशाल रनस्कोर खडा गर्यो । शतकीय पारी खेल्ने क्रममा निसानले एक सय एक बलको सामना गरे ।

प्रतिउत्तरमा देवदह क्रिकेट एकेडेमी डिसिएका बलरहरूको सटिक र घातक बलिङसामु १४ ओभर पनि टिक्न सकेनन् । देवदह क्रिकेट एकेडेमी २३ रनको लज्जास्पद स्कोरमा समेटियो । देवदहको पारीमा सबैभन्दा बढी ८ रन सर्वोत्तम सुनारले बनाएका थिए ।

देवदहलाई प्रतियोगिताकै अहिलेसम्मको सबैभन्दा कम स्कोरमा समेट्न अहम् भूमिका निर्वाह गरेका डिसिएका सौर्य श्रेष्ठले ७ विकेट लिए । उनले ६ दशमलव एक ओभरमा एक मेडन ओभरसहित जम्मा १० रनमात्रै खर्च गरे । त्यस्तै, निरज ऐरले ७ ओभर बलिङ गर्दै दुई मेडन ओभरसहित १२ रन मात्रै दिएर दुई विकेट लिए ।

प्रतियोगितामा यसअघि भएका खेलमा डिसिएले बुटबलको न्यू होराइजन एकेडेमी र काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टरलाई पराजित गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी शक्ति गौचनले सञ्चालन गरेको स्टार क्रिकेट एकेडेमीको आजोजनामा भैरहवामा प्रतियोगिता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार