३० बैशाख २०८१, आईतवार

लोटस आईलाई एलपिएलको उपाधी




धनगढी/ ब्याट र बलिङ दुवैमा चम्किएपछि धनगढीमा भएको विद्यालयस्तरीय अण्डर–१९ राष्ट्रिय लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेटको उपाधी कैलाली, अत्तरियाको लोटस आई स्कूलले जितेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज शनिबारको फाइनल खेलमा लोटस आईले डिफेन्डिङ च्याम्पियन अत्तरियाकै सत्यवती एकेडेमीलाई ७ विकेटले हराएर उपाधी ट्रफी उचाल्यो । जीतसँगै लोटस आईले दुई लाख ५१ हजार एक सय ५१ रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता सत्यवतीले एक लाख २५ हजार पाँच सय २५ रुपैयाँ पुरस्कारमा चित्त बुझायो ।

फाइनल खेलमा सत्यवती एकेडेमीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो । तर, लोटस आइको घातक तथा सटिक बलिङसामु टिक्न नसकेपछि पुरै टिम १९ दशमलव एक ओभरमा ९१ रनमा समेटियो । सत्यवतीका प्रारम्भिक ब्याट्सम्यान इमरान शेखले २७ रन बनाए । त्यस्तै, कप्तान सुजन गौतमले १७ तथा सोनु अन्सारीले ११ रन जोडे । तर अरु ब्याट्सम्यानहरूले फितलो प्रदर्शन गरेपछि सत्यवती सामान्य रनस्कोरमा सिमित भयो ।

सत्यवती एकेडेमीलाई सामान्य रनस्कोरमा समेट्ने क्रममा लोटस आईका नरेन साउँद र प्रेम शाहले चार÷चार विकेट लिए । फाइनल खेलको प्लेयर अफ द म्याच समेत बनेका नरेनले चार विकेटका लागि चार ओभरमा जम्मा ६ रन मात्र खर्च गरे । त्यस्तै, प्रेमले चार ओभरमा ८ रन दिए । लोटस आईका हिक्मत महरा र सुवाश रावलले एक÷एक विकेट लिए ।

९२ रनको विजय लक्ष्य लोटस आईले ११ दशमलव तीन ओभरमा तीन विकेट मात्र गुमाएर पुरा गर्यो । लोटस आईका लक्की कडायतले ३२ बलमा ७ चौकासहित अविजित ४१ रन बनाए । त्यस्तै, आयुब चन्दले २८ तथा वीरेन्द्र नाथले १४ रन बनाए ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज बनेका लोटस आईका आयुब चन्द २० हजार रुपैयाँ प्राप्त गरे । उनले प्रतियोगिताभरी पाँच खेलमा एक सय ७९ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए । उनी दुई वटा खेलमा प्लेयर अफ द म्याच पनि बनेका थिए ।
प्रतियोगिताको वेस्ट ब्याट्सम्यान र बेस्ट बलर पनि लोटस आईका क्रमशः योगेश भाट क्षेत्री र सन्तोष बिज बने । उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा उदीयमान खेलाडी बनेका लिटल फ्लावरका सुबोध तिवारीले पाँच हजार रुपैयाँ पाए ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा भएको प्रतियोगितामा कैलाली र कञ्चनपुरका १० विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा लिटल फ्लावर हाइस्कूल, शारदा विद्या निकेतन, होली फेमली स्कूल, सैनिक आवासीय महाविद्यालय तेघरी, नव बालवाटिका विद्यामन्दिर, भूवनेश्वरी विद्यामन्दिर, वेष्टर्न क्रिष्टल एकेडेमी, गुराँस एकेडेमी, सत्यवती एकेडेमी र लोटस आई स्कूलले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार