१३ पुष २०८१, शनिबार

दीपेन्द्र स्मृति डिसीए कप क्रिकेट
सरस्वती र त्रिभूवनको जीत





धनगढी/ धनगढीमा जारी दीपेन्द्र स्वार स्मृति डिसीए कप क्रिकेट प्रतियोगिताको सोमबारका खेलहरूमा सरस्वती माध्यमिक विद्यालय र त्रिभूवन मावि विजयी भएका छन् ।

सरस्वती माविले शारदा विद्या निकेतनलाई ३६ रनले हरायो भने अर्को खेलमा त्रिभूवन माविले थ्रीस्टर स्कुललाई चार रनले पराजित ग¥यो ।

फाप्ला क्रिकेट मैदानमा सोमबारको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सरस्वती माविले सबै विकेट गुमाएर एक सय २१ रन बनायो ।

सरस्वती माविको ब्याटिङ पारीमा मुस्कान बिष्टले २४ बलमा पाँच चौका हिर्काउँदै २५ रन बनाए । त्यस्तै, खेल बोहराले ४० बलमा दुई चौकासहित २३ रन तथा जगदीश भट्टले १४ बलमा चार चौका हिर्काउँदै २१ रन बनाए ।

बलिङतर्फ शारदा माविका भूपेश भट्टले दुई ओभरमा तीन विकेट लिए भने अनिश अवस्थी र खेम बोहरा नाममा २–२ विकेट रह्यो ।

जवाफमा शारदा माविले १६ दशमलव चार ओभरमा ८५ रनमा अलआउट भयो । शारदाका आकाश बिष्टले १८ र आयुष महराले १३ रन बनाए ।

शारदा माविमाथि ३६ रनको विजय प्राप्त गर्ने क्रममा सरस्वती माविका नरेन्द्र महराले तीन रन लिए । त्यस्तै, रमेश महता तथा नविन महताले २–२ विकेट लिए । सो खेलको प्लेयर अफ द म्याच सरस्वती माविका खेम बोहरा बने ।

सोमबार नै भएको अर्को खेलमा टस जितेर त्रिभूवन माविले ९ विकेट क्षतिमा एक सय ११ रन बनायो । त्रिभूवन माविका कुशल बोगटीले ३६ बलमा पाँच चौकासहित ३६ रन बनाए । त्यस्तै, सुशील भाटले १४ र विनय जोशीले १२ रन बनाए । बलिङतर्फमा थ्रीस्टार स्कूलका विनय जोशी र सुशील भाटले तीन–तीन विकेट लिए ।

जवाफमा थ्रीस्टार स्कुलले १७ दशमलव एक ओभरमा एक सय सात रनमा अलआउट भयो । थ्रीस्टारका सचिनकुमार नेगीले १३, अरुण कठरियाले ११ तथा रोशन रावलले १० रन बनाए ।

त्रिभूवन माविलाई चार रनको विजय दिलाउने क्रममा बलर समशेर खड्काले तीन विकेट लिए । भने किरण शाहु र सचिन कुमार नेगीले दुई–दुई विकेट लिए । सो खेलको प्लेयर अफ द म्याच त्रिभूवन माविका सुशील भाट बने ।

प्रतियोगिता अन्तर्गत भोली (मंगलबार) एभिन स्कुल र कैलाली मोडल तथा बात्साल्या मावि र लिटिल फ्लवार स्कुलबीच हुनेछ ।
धनगढी क्रिकेट एकेडेमी (डिसिए) को आयोजनामा भइरहेको प्रतियोगिता आगामी १६ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार