२८ पुष २०८१, आईतवार

दीपेन्द्र स्मृति डिसिए कप क्रिकेट
वात्साल्या र लिटिल फ्लावरको जीत




धनगढी/ धनगढीमा जारी दीपेन्द्र स्वार स्मृति डिसिए कप इन्टर स्कुल क्रिकेट प्रतियोगिताको शुक्रबार भएको खेलमा वात्साल्या विद्या निकेतन र लिटिल फ्लवार स्कुल विजयी भएका छन् ।

शुक्रबारको पहिलो खेलमा वाल्साल्या विद्या निकेतनलाई ६ विकेटले हरायो । अर्को खेलमा लिटिल फ्लावरले १० विकेटले जीत हासिल गरेको छ ।

पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कैलाली विद्या निकेतनले ५८ रन बनायो । कैलाली विद्या निकेतनका मुकेश शाहले १९ रन बनाए भने अरु कोही पनि ब्याट्सम्यानले दोहोरो अंक छुन नसकेपछि कैलाली विद्या निकेतन सस्तोमा समेटियो । कैलाली विद्या निकेतनलाई सस्तोमा समेट्ने क्रममा बात्साल्याका विक्रम चन्दले चार तथा निरजसिंह कार्कीले तीन विकेट लिए ।

प्रतिउत्तरमा बात्साल्यले ६ दशमलव एक ओभरमा चार विकेट मात्रै गुमाएर विजय लक्ष्य प्राप्त गर्यो । बात्साल्याका बिक्रम चन्दले २६ रन बनाए । भने कैलाली विद्या निकेतनको फितलो बलिङबाट बात्साल्याले २० रन अतिरिक्त पाएको थियो । बलिङतर्फ कैलाली विद्या निकेतनका मुकेश साहले तीन विकेट लिए ।

शुक्रबारको अर्को खेलमा लिटिल फ्लवारले त्रिनगर माविलाई १० विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको त्रिनगर ११ दशमलव ६ ओभरमा ४७ रनमा अलआउट भयो । त्रिनगरका प्रेम कुन्जेडाले १६ रन बनाए पनि अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

त्रिनगर माविलाई सस्तोमा सिमित पार्ने क्रममा लिटिल फ्लावरका रोशन रावल र सुवोध तिवारीले तीन÷तीन विकेट लिए । त्यस्तै, सचिन भट्ट र आशिष साहुको नाममा दुई÷दुई विकेट रह्यो ।
४८ रनको सामान्य विजय लक्ष्यका साथ ब्याटिङ गर्न ओर्लिएको लिटिल फ्लावरले जम्मा २० बलमा पुरा गर्यो । लिटिलका आरिश बोहराले अविजित ३० र यशकुमार कठायतले अविजित ८ रन बनाए । सो खेलको म्यान अफ द म्याच लिटिल फ्लावरका रोशन रावल बने ।

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिता आगामी १६ गतेसम्म सञ्चालन हुने छ । आयोजकका अनुसार प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

त्यस्तै प्लेयर अफ द सिरिजले पाँच हजार रुपैयाँ पुरस्कारका साथै धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा क्रिकेट प्रशिक्षणका लागि चार महिनाको छात्रवृत्ति पाउने छन् ।

डिसीएका व्यवस्थापक समुयल न्यौपानेका अनुसार प्रतियोगिताको वेस्ट बलर र बेस्ट ब्याट्सम्यानले तीन÷तीन हजार रुपैयाँ पुरस्कार र तीन महिनाको छात्रवृत्ति पाउने छन् ।

डिसिएका पूर्व खेलाडी रहेका दीपेन्द्र स्वारको युवाअवस्थामा केही वर्षअघि सडक दुर्घटनामा निधन भएको थियो । उनको परिवारले उनको स्मृतिमा हरेक वर्ष क्रिकेट प्रतियोगिताका साथै अन्य खेलकुद प्रतियोगिता, वृक्षारोपण, सरसफाई लगायतका कार्यक्रम गर्दै आएको छ ।

प्रतियोगितामा एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्क्वायरले प्रायोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार