१६ चैत्र २०८०, शुक्रबार

सङ्घीयताकै कारण हाम्रो भाषा, संस्कृतिको संरक्षण हुँदैछ मुख्यमन्त्री भट्ट




धनगढी/ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कार्यालय धनगढीमा स्थापना भएको छ । उपकुलपतिमा डा. टिएन जोशी नियुक्त भएसँगै सो कार्यालयको स्थापना भएको हो ।

सो कार्यालयका्े सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहका वीच उद्घाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री भट्टले आफ्नो प्रदेशको भाषा, कला र संस्कृति संरक्षण गर्न प्रदेशको प्रज्ञा प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे ।

आग्रह, पूर्वाग्रह र अनावश्यक राजनीतिबाट मुक्त हुनुपर्छ भन्नेमा हामीले निक्कै छलफल गरेका छौ त्यस अनुसार काम गरेमा लक्ष्य प्राप्ती हुन्छ मुख्यमन्त्री भट्टले भने ।

उनले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले चाँडै पूर्णता पाउने विश्वास पनि व्यक्त गरे ।
अहिले सङ्घीयताको विरोध गर्न थालिएको छ तर आफ्नो भाषा, कला र संस्कृति संरक्षण गर्न प्रदेश सरकारको ऐनले बनेको प्रज्ञा प्रतिष्ठान निक्कै प्रभावकारी हुनेछ मुख्यमन्त्री भट्टले बताए ।

उनले प्रदेशको प्रज्ञा प्रतिष्ठानलाई पनि सङ्घको प्रज्ञा प्रतिष्ठान जस्तो बनाउनका लागि थप छलफल आवश्यक हुने पनि बताए ।
हाम्रो कार्यकाल सङ्घीयता कार्यान्वयनको पहिलो चरण भएकोले कानुनको अभावमा प्रदेशको प्रज्ञा प्रतिष्ठान गठनमा ढिलाइ भएको पनि उनले स्वीकार गरे ।

सो अवसरमा बोल्दै प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले आफूले सुदूरपश्चिमको समग्र पक्षलाई समेटेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रम सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राज्यमन्त्री टेकबहादुर रैकाको पनि उपस्थिति थियो । सो कार्यक्रममा मन्त्रालयका सचिव दीपक लामिछाने, साहित्यकार टोपेन्द्र शाह रसिक लगायतले प्रतिष्ठान र उपकुलपतिको सफलताको लागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार