१५ चैत्र २०८०, बिहीबार

धनगढीको नेपथ्य कन्सर्टमा द्वन्द्वकालको सुदुरपश्चिम सम्झना



धनगढी/ जताततै जंगलको हरियाली अनि पर–परसम्म फराकिला खेतहरुमा पहेँलपुर तोरी झुलिरहेका देखिन्छन् । अन्यत्र पुसको ठिही सुरुभइसक्दा पनि कैलाली भने यतिबेला असाध्यै अनुकूल हावापानीमा रमाइरहेको छ ।

यो अनुकूलता उहिले द्वन्द्वकाल र भर्खरैको कोभिड महामारीपछि चैनको स्वास फेरिरहेको यस सिमावर्ती भेगमा धेरै हिसाबले महशुस गर्न सकिन्छ । सहरकै एउटा कुनामा चलिरहेको ‘सुदुरपश्चिम महोत्सव’ले पनि स्थानीयका माझमा मधुर माहोल बनाइरहेकै छ ।

यसैबीच नेपथ्यले ‘मानवताको लागि संगीत’ नारा बोकेर देशभर भ्रमण गरिरहँदा आइतबार धनगढीमा आयोजित छैठौं कन्सर्ट पनि भब्य रुपले सम्पन्न भएको छ ।

द्वन्द्वकालमा बाहिरका मानिस आउन संकोच मान्दा पनि बारंबार यस भेगमा आइ गीत सुनाउने नेपथ्यको चीर परिचित ध्वनी आइतबार बेलुकी फेरि यहाँस्थित रंगशालामा फैलिँदा हजारौं दर्शकहरुको उत्साह मिश्रित आवाजले पर–परसम्म प्रभाव फैलिरहेको देखिन्थ्यो ।

सुरुमा दुइवटा म्यूजिक भिडियो देखाउनासाथ मञ्चमा चढेको नेपथ्य टोलीले ‘आँगनैभरि हिउँनै झरे’ बाट धनगढीमा आफूलाई प्रारम्भ गर्यो ।

दोश्रो गीत थियो ‘भेँडाको ऊनजस्तो’। यो गीतबाटै मैदानमा नाचिरहेका दर्शकहरुबीच तापक्रम उच्च भइसकेको थियो भने त्यसलाई निरन्तरता दिँदै ब्याण्डले ‘छेक्यो छेक्यो’ सुनाएको थियो । ब्याण्डको दोश्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको यो सर्वकालीक हिट गीतलाई देशभरिका श्रोताजस्तै धनगढीले पनि व्यापक स्वागत गर्यो ।

त्यसपछि एकैछिन गाउने क्रमलाई थामेर ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले सम्पूर्ण श्रोता दर्शकहरुलाई स्वागत गरेका थिए । तपाइहरुको धनगढीमा बस्दा मलाइ मेरै भेगको याद आइरहेको छ ।

अब रोदीघरहरु तिर लैजान्छु’ भन्दै उनले ‘लामपाते सुरती’ प्रस्तुत गरे । त्यसपछि भने ‘मीन पचास’ एल्बमका उत्तिकै लोकप्रिय गीतहरु ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ प्रस्तुत गरिएको थियो ।

नेपालभरि म जहाँ पुगेँ त्यहाँ सुन्दरता पाएँ,’ अमृतले थपे, ‘अब यो कैलालीजस्तै अर्को राम्रो ठाउँ रुकुमतिर लैजान्छु ।’
यसो भनेपछि उनले पछिल्लो समय नेपथ्यले तयारपारेको अर्को लोकप्रिय गीत ‘शिरफूल शिरैमा’ गाएर सुनाएका थिए ।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले पटक पटक मानवसेवा आश्रमको उद्देश्यबारे बोले । ब्याण्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरुको तस्बिर सहितका दृश्यहरुबाट प्रस्तुत गरिएको थियो ।

धनै धन भएर यो ठाउँलाई धनगढी भनेको रे हो प्रश्न गरिसकेपछि उनी अगाडि भन्दै थिए, त्यो धनमा मन मिसाएर खुला हृदयले मानवताको सेवा गरौं है ।

गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आव्हान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए ।

पुसको कठ्याग्रिने जाडोमा पनि कन्सर्टमा स्कुले बालबालिका, युवायुवती मात्र होइन पहिलो लहरमै बसेर नृत्यरत परिपक्व अनुहार पनि देखिन्थे ।

यस्तै पछाडितिर पनि कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य तारा लामा तामाङ पत्नी सहित नेपथ्य साँझ हेरिरहेका थिए ।

प्रतिनिधि सभाका सदस्य तारा लामा तामाङ पत्नी सहित नेपथ्य साँझमा

नेकपा (एमाले) कैलालीका सचिव डेजी पाण्डे त कन्सर्टको फेसबूकमा लाइभ गरिरहेका थिए । यस्तो कन्सर्ट विरलै हेर्न पाइन्छ भन्दै उनले आफ्ना तीन जना साथीको टिकट समेत काटेर कन्सर्ट हेर्न लगेका थिए । सोही ठाउँमा बसेर नेकपा (एकीकृत समाजवादी) का उपसचिव दीर्घ जोशी सहितका युवा नेताहरु पनि कन्सर्ट हेरिरहेका थिए ।

कन्सर्टको अन्त्यतिर ‘गाउँ गाउँबाट उठ’ गाउन सुरुगरेपछि धनगढी रंगशालामा भएभरका दर्शकहरुको खुट्टा बज्रिन थाल्यो । त्यसले मैदानमा जमेका धुलो उडेर आकाश छेक्लाजस्तै गरि फैलिएको देखिन्थ्यो ।

‘हामीले ठूलो लडाइँ देख्यौं । यो धनगढीमा उतिबेला आउँदा सर्वसाधारण त्रासमा बाँचेका थिए । संसार फेर्छु भन्नेहरु आफै फेरिएको पनि देखियो । अब त्यस्तो लडाइ देख्नु नपरोस् ।’

अमृतले धुनकै बीच यी बाक्यहरु बोलेका थिए जसमा दर्शकहरुले ठूलो आवाजका साथ समर्थन जनाएको देखिन्थ्यो ।

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । अमृतले सबै साथीहरुको क्रमैसँग परिचय गराए ।


त्यसपछिको गीत थियो
‘मै नाचे छमछमी’
यसले दर्शकहरुको साँगीतिक उत्तेजनालाई पराकाष्ठामा लगिसकेको थियो ।
त्यहि मौका पारेर अमृतले सोधेः ‘अब कुन गीत सुन्ने ’

मैदानमा भएभरका दर्शकहरुले एक स्वरबाट ‘रेशम’ भन्दै चिच्याउन थाले । यसरी ‘रेशम’ र त्यसपछि पनि दर्शककै फर्माइसमा ‘तालको पानी’ गाएर सुनाइएको थियो ।

‘बाँचुन्जेलको मात्र यो जीवनमा बाँचेकै बेला सत्कर्म गरौं,’ अमृतले फेरि पनि परोपकारका निम्ति दर्शकहरुलाई प्रोत्साहित गर्दै ठूलो दर्शक प्रतिक्रियाकै बीच भने, ‘धनगढीको यो आवाजलाई मैले मानव मन्दिर निर्माणमा प्रतिवद्धता ठानेको छु है ।’

अन्त्यमा भने सँधैजस्तै नेपथ्यले ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरेको थियो । त्यतिबेला मुलुकप्रतिको भावनाले ओतप्रोत दर्शकहरु जताततै राष्ट्रिय झण्डा बोकेर नृत्य गरिरहेको देखिन्थ्यो ।

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्ट धनगढीमा पनि सफलताका साथ सम्पन्न भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन् । यसका निम्ति उनले सबै सहयोगीलाई धन्यवाद ब्यक्त गरे ।

‘धनगढीको कन्सर्टमा भब्य उपस्थितीले मनोरञ्जन र परोपकार दुवैमा सरिक हुनचाहने यस सहरका सहृदयीहरुको पहिचान पनि स्थापित गरेको छ,’ अधिकारीले थपे, ‘यसैगरि मुलुकका अन्य भागमा निरन्तर चल्ने कन्सर्टहरुलाई पनि त्यहाँका मानवताप्रेमी श्रोता दर्शकहरुले सफल बनाउने विश्वास लिएको छु ।’

धनगढीको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बसमार्फत् वीरेन्द्रनगर सुर्खेततर्फ प्रस्थान गरेको छ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित खुलामञ्चमा नेपथ्य पुस ६ गते बुधबार प्रस्तुत हुँदैछ ।

तस्बिरहरु दिपित राज र नेपालय

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार