११ बैशाख २०८१, मंगलवार

किशोरी मृत्यु प्रकरण : आफन्तहरुद्वारा बलात्कारपछि हत्या भएको आरोपसहित उजुरी दर्ता




धनगढी/ कैलालीको घोडाघोडी नगरपालिका–५ मा एक किशोरीको बलात्कारपछि हत्या गरिएको आफन्तले आरोप लगाएका छन् ।

आइतबार राती साढे आठ बजेतिर साथीको घरबाट आफ्नो घर जान हिँडेकी १७ वर्षीया भागरथी ढुंगाल सोमबार बिहान ६ बजेतिर घर नजिकै अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक भागरथीका आफन्तहरुले उनको बलात्कारपछि हत्या भएको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गरेका छन् । उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरेर दोषिलाई कडा कारबाहीको माग गरेका छन् ।

स्थानीयका अनुसार सोमबार बिहान मुखमा मास्क लगाएको एक युवकले ती किशोरीलाई अचेत अवस्थामा नै छोडेर भागेका थिए । एक स्थानीय प्रत्यक्षदर्शीले भने– युवति अचेत अवस्थामा भुईमा थिइन् । एक जना युवकले उनलाई त्यहीँ छोडेर भाग्यो । हामीले ती युवतिलाई हात समातेर उठाउन खोज्यौं, तर उठिनन् । अनि उनलाई बोकेर उनको घर लग्यौं । र, १० बजेतिर उपचारका लागि सुख्खड लगे ।

प्रहरीले एक युवकलाई नियन्त्रणमा लगेर घटनाको अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) वेदप्रकाश जोशीले भने– प्रारम्भिक अनुसन्धान तथा नियन्त्रणमा लिइएको युवकको बयानअनुसार ती किशोरी र १९ वर्षीय युवकबीच दुई वर्षदेखि प्रेम रहेको पाइएको छ । हामी घटनाको अनुसन्धान गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार