दीपक भट्टको मानव अधिकार संरक्षण माग्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन
ललितपुर/ विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका दीपक भट्टको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हक संरक्षण गर्न माग गर्दै उनका बुबा चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।
भट्टले शुक्रबार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै छोराविरुद्ध सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न र कारागार सरुवाको निर्णयमाथि अनुसन्धान गर्न माग गरेका हुन् ।
चतुर्भुज भट्टले जारी गरेको विज्ञप्तिअनुसार, विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा दीपकलाई दोषीका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने र सामाजिक प्रतिष्ठामा आघात पुर्याउने प्रकृतिका समाचार तथा सामग्री प्रकाशित भइरहेको भन्दै आपत्ति जनाइएको छ ।
विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति उनले गम्भीर असहमति जनाएका छन् । पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिले नगरेको कामलाई सत्यका रूपमा प्रस्तुत गर्दा उनको प्रतिष्ठामा क्षति पुग्नुका साथै निष्पक्ष न्याय पाउने अधिकारमा समेत असर पर्न सक्ने उनको भनाइ छ ।
यसैगरी, असोज १७ गते दीपकलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको विषयमा पनि उनले प्रश्न उठाएका छन् । दीपकविरुद्धका मुद्दा काठमाडौं जिल्ला अदालत, विशेष अदालत तथा उच्च अदालत पाटनमा विचाराधीन रहेको अवस्थामा सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे जानकारी नदिइएको विज्ञप्तिमा उल्लेख छ ।
सरुवाको औचित्य र आवश्यकताबारे स्पष्ट जानकारी नपाउँदा न्यायिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने तथा परिवारले थप मानसिक पीडा भोग्नुपरेको चतुर्भुजको भनाइ छ ।
उनले छोरालाई नख्खुबाट सिन्धुपाल्चोक कारागार सार्नुको कारण तथा नख्खु कारागारमा रहँदाको आचरणबारे जानकारी माग गर्दै नख्खु कारागार र कारागार व्यवस्थापन विभागमा समेत निवेदन दिएको बताएका छन् । तर, हालसम्म जवाफ प्राप्त नभएको उनको दाबी छ ।
कारागारबाट फोन गरेको लगायतका विषयमा प्रकाशित समाचारबारे पनि उनले सञ्चारमाध्यम र प्रेस काउन्सिल नेपालमा निवेदन दिएका छन् । संविधानको धारा १९, प्रेस काउन्सिल ऐन, २०४८ तथा पत्रकार आचारसंहिता, २०७३ (संशोधनसहित) बमोजिम आवश्यक प्रक्रिया अघि बढाउन उनले आग्रह गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगमा दिएको निवेदनमार्फत प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन, कारागार सरुवासम्बन्धी निर्णय तथा कागजातको अध्ययन र आवश्यकताअनुसार स्थलगत अनुगमन गर्न माग गरिएको छ । साथै, सरुवाको औचित्यसमेत विचार गरी दीपकलाई नख्खु कारागारमा फिर्ता ल्याउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन आयोगसँग आग्रह गरिएको छ ।
चतुर्भुज भट्टले कुनै पनि निकायको निष्पक्ष अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध पुर्याउने आफ्नो उद्देश्य नरहेको स्पष्ट पारेका छन् । सत्यतथ्यको निष्पक्ष छानबिन, कानुनी प्रक्रियाको सम्मान, भ्रामक समाचारबाट हुने चरित्रहत्याको रोकथाम तथा छोराको मानव अधिकार र मौलिक हकको संरक्षणका लागि आफूले पहल गरेको उनको भनाइ छ ।




