२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री देउवालाई भेटेका जोशीको घोषणा मेरो उम्मेदवारी कायमै छ



धनगढी / नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह सोही पार्टीका कैलालीका पूर्व सभापति गोविन्दराज जोशीले अस्वीकार गरेका छन् ।

देउवाले क्षेत्र नम्बर ३ को प्रदेशसभा ख मा बागी उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई उम्मेदवारी निस्कृय भएको घोषणा गर्र्दै गठबन्धनलाई सहयोग गर्न जोशीलाई आग्रह गरेका थिए तर जोशीले भने ढिलो भइसकेको जवाफ दिएका छन् ।
प्रधानमन्त्री ज्यूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेर गठबन्धन र पार्टीलाई सहयोग गर । तिमीले स्वतन्त्र उम्मेदवारी दिनु भनेको पार्टी छोड्नु हो, पार्टी किन छोड्छौँ’ भनेको जोशीले बताए ।
नेता जोशीले भने ‘मैले त्यहाँका नेता, कार्यकर्ताको भावनाअनुसार उम्मेदवारी दिएको हुँ अब फिर्ता लिन सक्दिन, समय निकै ढिलो भइसक्यो दाइ भनेर जवाफ फर्काएको छु ।’
जोशीलाई देउवाले पार्टीमा लामो समयदेखि पुगाएको योगदानको स्मरण गर्दै सहयोग गर्न पनि आग्रह गरेका थिए ।
तर जोशीले भने आफ्नो क्षेत्रमा स्थानीय तहको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समेत कांग्रेसलाई उम्मेदवार विहीन बनाइएकाले कार्यकर्ताको भावनाअनुसार उम्मेदवारी दिएको बताए ।
‘मैले यत्रो वर्ष पार्टीका कार्यकर्ताका माझमा रहेर काम गरे तर वडा सदस्यमा समेत कांग्रेसले उम्मेदवार नपाउने परस्थिति बन्यो,’ जोशीले भने, ‘मेयरमा पनि हामीले उम्मेदवार पाएनौँ, अनि कार्यकर्ताहरुले कहाँ भोट हाल्ने ? बाध्य भएर सबैको सल्लाहमा उम्मेदवारी दिएको हुँ ।’

जोशीको क्षेत्रमा प्रदेशसभा ख मा नेकपा एकीकृत समाजवादीका अमर साउदलाई गठबन्धनले साझा उम्मेदवार बनाएको छ । त्यहाँ जोशीसँगै कांग्रेसका लक्ष्मण शाहीले पनि बागी उम्मेदवारी दिएका छन् ।

नेता जोशीले फेसबूकमा समेत स्टाटस लेखेर आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले पार्टीबाट निष्काशन गरिएका कैलाली–५ का स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको पक्षमा लागेका नेता, कार्यकर्ताहरुलाई समेत बोलाएर गोप्य भेटघाट गरिरहेको स्रोतको दावी छ ।

यसैवीच कैलाली ५ मा पुस्कर ओझाको पक्षमा लागेका कांग्रेसका पूर्व जिल्ला सचिव पूर्ण कुँवर लगायतका दर्जनौं नेता कार्यकर्तासँग स्पष्टीकरण पनि मागिसकेको छ ।

देउवाले धनगढीस्थित पत्नि आरजू राणा देउवाको निवासमा बसेर आइतबारदेखि असन्तुष्ट नेता, कार्यकर्ताहरुलाई भेट्दै पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार