१६ चैत्र २०८०, शुक्रबार

गठबन्धन कमजोर भयो भने मुलुक गम्भीर दुर्घटनामा पर्छ– गठबन्धन नेताहरू




–सुदूरपश्चिमबाट गठबन्धनको जीत शुरु गर्नुपर्छ– देउवा
–मैले शान्ति सम्झौतामा हस्ताक्षर गरेर रुखमा मतदान गरिसके– प्रचण्ड
–रुख, हसियाहतौडा, कलम मात्रै चिन्छु भन्ने होइन, साझा उम्मेदवारलाई मतदान गरौं– नेपाल
– प्रतिगमनतर्फ फर्काउने प्रपञ्चविरुद्ध गठबन्धन– पौडेल
– आपसका विवाद थाँथी राखेर गठबन्धन जिताऔ– नेपाली


धनगढी/ ५ दलीय गठबन्धनका शिर्ष नेताहरूले आगामी मंसिर ४ को निर्वाचनमा गठबन्धन कमजोर भएमा मुलुक नै गम्भीर दुर्घटनामा पर्ने दाबी गरेका छन् । शिर्ष नेताहरुले आगामी मंसिर ४ गतेको निर्वाचन प्रतिगमन र अग्रगमनबीचको महासंग्राम पनि भएको बताए ।

आज आइतबार धनगढीमा ५ दलीय सत्ता गठबन्धनद्वारा “संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन” को नारासहितका साथ आयोजित “५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेला” मा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, गठबन्धन संयोजक तथा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सम्बोधन गर्दै लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधान तथा राष्ट्रियताको रक्षाका लागि गठबन्धनको विजय अनिवार्य रहेको बताए । उनीहरुले भने– आगामी निर्वाचनमा गठबन्धनको जीतले मात्रै राजनीतिक स्थिरता, आर्थिक क्रान्ति र समृद्धि सम्भव छ ।

प्रशिक्षण भेलामा सम्बोधन गरेका चार दलका पाँच जना शिर्ष नेताहरुले पुरै समय पुरै समय गठबन्धनको औचित्य र आवश्यकताका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा खर्च गरे

वक्ता नेताहरुले नेकपा एमालेले राप्रपा, जनता समाजवादी पार्टी तथा अन्य दलहरुसंग मिलेर बनाएको गठबन्धनलाई “प्रतिगमनतर्फको पाइला तथा अस्वाभाविक र अप्राकृतिक” को संज्ञा दिए । उनीहरुले भने– अहिले एमालेसहितको गठबन्धन “नेपाली जनताको लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धी समाप्त पार्न र रच्छ्यानमा मिल्काइएको राजतन्त्र पुनःस्थापनाको प्रयासस्वरुप” निर्माण भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले नेपालमा स्थापित लोकतन्त्र, संघीयता र गणतन्त्रलाई संस्थागत गर्न ५ दलीय गठबन्धनलाई जिताउनुका विकल्प नरहेको दाबी गरे । अहिले मुलुक क्रस रोडमा उभिएको र कता जाने ? भन्ने मोडमा आइपुगेको चर्चा गर्दै उनले भने– आगामी निर्वाचनबाट गठबन्धनलाई विजयी गराएर मुलुकलाई अग्रगमनतर्फ डोराउनु पर्छ ।

प्रधानमन्त्री देउवाले २०७४ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा काँग्रेसबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ आफूले मात्रै जितेको स्मरण गरे । उनले भने– गत निर्वाचनमा म मात्रै विजयी भए, तर गठबन्धन दलको सहयोग र समर्थनका कारण सरकारको नेतृत्व गर्न पाए ।

उनले आगामी निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाटै गठबन्धनको जीतको शुरुवात गर्नुपर्ने बताए । भने– हामीले सुदूरपश्चिमबाट गठबन्धनलाई सफल बनाउनु पर्छ । तबमात्र सुदूरपश्चिम प्रदेशले सत्ता र अवसरहरूमा बढी भाग पाउने छ ।

प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन दलका उम्मेदवारहरुलाई बिना कुनै संकोच मतदान गर्न आह्वान गरे । उनले शान्ति प्रक्रियाका क्रममा आफूले बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेर काँग्रेसको रुख चिन्हमा मत हालिसकेको बताए । भने– मैले १२ बुँदे सहमति, बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेर काँग्रेसको रुख चिन्हमा मत हालिसके । त्यस्तै, काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेर हसिया हतौडामा भोट हालिसक्नु भएको हो ।

उनले २००७ सालदेखि भएगरेका हरेक आन्दोलन, क्रान्ति र संघर्ष लोकतान्त्रिक शक्ति काँग्रेस र बामपन्थीहरूबीचको एकता तथा सहकार्यबाटै सम्भव भएको बताए । “नेपाली जनताले पटकपटक संघर्ष गरेर राजनीतिक परिवर्तन गरेका छन्, तर कुनै पनि परिवर्तन संस्थागत हुननपाउँदै केही समयपछि नै असफल भए । हामीले इतिहासबाट पाठ सिकेर पछिल्लो राजनीतिक परिवर्तनलाई संस्थागत गर्नेतर्फ अघि बढ्नु पर्छ ।

अध्यक्ष प्रचण्डले ५ दलीय गठबन्धनको जीतले नै मुलुक दीगो शान्ति, राजनीतिक स्थिरता तथा समृद्धिको यात्रामा अघि बढ्ने दाबी गरे । उनले भने– अब राजनीतिक परिवर्तन संस्थागत गर्न आर्थिक क्रान्ति अनिवार्य भइसकेको छ ।
संयुक्त प्रशिक्षण भेलामा एकीकृत समाजवादी अध्यक्ष नेपालले मुलुकको राजनीतिक परिस्थिति र आवश्यकताका कारण गठबन्धनलाई निरन्तरता दिनुपरेको बताए । अध्यक्ष नेपालले ५ दलीय गठबन्धन प्राकृतिक, स्वाभाविक र पवित्र गठबन्धन भएको दाबी गरे ।

एमाले र अध्यक्ष ओलीमाथि सबैभन्दा बढी आक्रामक रुपमा प्रस्तुत भएका एकीकृत समाजवादी अध्यक्ष नेपालले एमालेले निर्माण गरेको अर्को गठबन्धनलाई अस्वाभाविक, असहज, अपवित्र र निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाए ।

०७४ सालको निर्वाचनमा एमाले तथा तत्कालीन नेकपालाई जनताले ठूलो विश्वासका साथ दुई तिहाई बहुमत दिए पनि ओलीका कारण पार लाग्न नसकेको आरोप लगाए । उनले भने– ओलीले पटकपटक प्रतिगमनकारी पाइला चालेपछि हामीले बिद्रोह गर्यौ र उनलाई एक्ल्याएर स्थिरताको यात्रा शुरु गर््यौं ।

उनले पनि गठबन्धन दलका नेताकार्यकर्ता तथा समर्थकहरूलाई बिना कुनै संकोच साझा उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे । भने– कोही कसैले पनि म रुख, हरियाहतौडा वा कलम बाहेक अरु केही देख्दिन भन्ने होइन, निसंकोच गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्नुस् ।कार्यक्रममा काँग्रेस बरिष्ठ नेता पौडेलले मुलकुलाई प्रतिगमनतर्फ फर्काउने प्रपञ्च विरुद्ध ५ दलीय गठबन्धन निर्माण भएको दाबी गरे । उनले भने– अब हामी मुलुकमा कुनै पनि किसिमको समस्या र खतरा निम्त्याउन चाहदैनौ । त्यसैले गठबन्धनलाई पूर्ण रुपमा विजयी गराउनु पर्छ ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष नेपालीले आपसका विवादहरूलाई थाँथी राखेर राष्ट्र, राष्ट्रियता र स्वाधिनता तथा संविधानको रक्षाका लागि गठबन्धनलाई निर्वाचनमा विजयी गराउनु पर्ने बताए । भने– यो (गठबन्धन) प्रतिगमन विरुद्धको लडाञी हो ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सवको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस कैलालीका सचिव केशवराज मिश्रले गरेका थिए ।

संयुक्त प्रशिक्षण भेलामा गठबन्धनका सबै दलका सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी र सदस्य, प्रदेश समितिका पदाधिकारी, जिल्ला पदाधिकारी तथा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारसहित करिब सात सय बढीको सहभागिता रहेको थियो ।

निर्वाचन आयोगले आगामी १७ गतेसम्म चुनावी भेला, आमसभा, कोणसभा, र्याली लगायतका तडकभडक खालका कार्यक्रम गर्न रोक लगाएपछि राजनीतिक दलहरुले प्रशिक्षण, शुभकामना आदानप्रदान, कार्यकर्ता भेटघाट जस्ता कार्यक्रम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार