१६ चैत्र २०८०, शुक्रबार

एसपीएलाई अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड




धनगढी/ धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड पाएको छ ।

सेप्टेम्बर २४ (असोज ८ गते) संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजित ग्रीन स्कुल कन्फरेन्स, २०२२ मा एसपीए कलेजलाई सो अवार्ड प्रदान गरियो । भारतमा स्थापना भएको र विश्वभरीका चार दर्जन बढी देशमा क्रियाशील ग्रीन मेन्टर्स नामक संस्थाले सो अवार्ड प्रदान गर्दैआएको छ । अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड पाउने धनगढीका एसपीए नेपालकै एकमात्र कलेज हो ।


कन्फरेन्समा ४० देशका दुई हजार बढी शैक्षिक संस्थाहरूको सहभागिता रहेको थियो । एसपीएका तर्फबाट हाल अमेरिकामा रहेका कलेजका पूर्व कर्मचारी हर्क बोहराले सो अवार्ड ग्रहण गरेको कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले जानकारी दिए ।


प्रबन्ध निर्देशक शाहीका अनुसार शैक्षिक क्रियाकलापबाट स्थानीय वातावरण संरक्षणमा निर्वाह गरेको भूमिकाका आधारमा सो अवार्ड प्रदान गर्ने गरिएको छ । यो कार्यक्रम संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक काउन्सिल अन्तर्गत सञ्चालित छ ।
शाहीको अग्रसरतामा सन् २०१२ देखि “ग्रीन क्लिन धनगढी” संस्था शुरु भएको हो । धनगढीको मुख्य बजार क्षेत्रको सडक तथा सहायक सडकहरूमा वृक्षरोपणबाट शुरु भएको अभियानका क्रममा एसपीए कलेजले ग्रीन भोलियन्टर्स (हरित स्वयंसेवक) तयार गर्ने अभियान जारी राखेको छ ।


एसपीए कलेजमा ‘ग्रीन क्लिन धनगढी’ क्लवमा आवद्ध ग्रीन भोलेन्टियर्सहरूले मुख्य तथा सहायक बजार क्षेत्र, स्कुल, छात्रावास, धार्मिक तथा सार्वजनिक क्षेत्र, सरकारी निकाय र डुबान क्षेत्रमा वृक्षरोपण गर्दै आएका छन् ।


अवार्ड प्राप्त गरेकोमा एसपीए कलेज प्रमुख योगराज उपाध्यायले गौरवको अनुभति गरेको चर्चा गर्दै भने– यो अवार्डले हामीले गुणस्तरीय शिक्षा, विद्यार्थीहरूको सर्वांगिण विकासका साथै वातावरण संरक्षण र सामाजिक सेवाको क्षेत्रमा प्रयाइरहेको योगदानको सम्मान भएको महसुस भएको छ ।


एसपीए कलेजको ग्रीनक्लिन क्लवमा आवद्ध स्यामुयल न्यौपानेले ‘वातावरण संरक्षणका क्षेत्रमा गरिरहेको प्रयासस्वरुप अवार्ड पाएकोमा निकै गौरव लागेको’ बताए । भने– ग्रीन कलेज अवार्डले हामीले लामो समयदेखि वातावरण संरक्षणको क्षेत्रमा गर्दै आएको प्रयासलाई विश्वले पहिचान गरेको महसुस भएको छ । उनका अनुसार हरेक शैक्षिक संस्थामा ग्रीन भ्योलिन्टियर्सहरू तयार गर्ने अभियान जारी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार