६ चैत्र २०८०, मंगलवार

सामाजिक विकास कार्यालयको समिक्षा




धनगढी / सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयको गत आर्थिक वर्ष २०७८/०७९ को समिक्षा कार्यक्रम आइतबार धनगढीमा भएको छ । कार्यक्रममा चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रमबारे पनि जानकारी गराइएको छ ।

प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाको उपस्थितिमा भएको कार्यक्रममा कार्यालयका प्रमुख कुलराज सोतीले गत आर्थिक वर्ष २०७८/ ०७९ मा २५ करोड ९१ लाख ८७ हजार रुपैया विनियोजित बजेटमध्ये २४ करोड ५२ लाख १३ हजार रुपैयाँ (९४ दशमलव ६१ प्रतिशत) खर्चसहितको विवरण प्रस्तुत गरे ।

प्रतिवेदनअनुसार सामाजिक विकास कार्यालयले गत आर्थिक वर्षमा चालुतर्फ दुई करोड ४० लाख ६१ हजार तथा पूँजिगतर्फ २१ करोड ८७ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, राष्ट्रिय युवा परिचालन कार्यक्रमतर्फ १० लाख २५ हजार रुपैयाँ तथा विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत १३ करोड ८५ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा सामाजिक विकास कार्यालयले एक सय ९५ योजना तथा कार्यक्रममध्ये एक सय ८६ योजना र कार्यक्रम कार्यान्वयन गरेको उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षमा सो कार्यालयलाई ३८ करोड २९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालुतर्फ छ करोड ९६ लाख ६४ हजार तथा पूँजीगततर्फ ३१ करोड तीन लाख सात हजार रुपैया विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षमा सामाजिक विकास कार्यालयले दुई सय ३९ वटा कार्यक्रम र योजना सञ्चालन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार