६ चैत्र २०८०, मंगलवार

प्रदेश प्रमुखसमक्ष प्रदेश लोकसेवा आयोगको प्रतिवेदन पेस




धनगढी / सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी समक्ष आइतबार प्रदेश लोकसेवा आयोगले द्वितीय वार्षिक प्रतिवेदन पेश गरेको छ ।

प्रदेश प्रमुख जोशी समक्ष आयोगका अध्यक्ष यज्ञराज बोहराले प्रतिवेदन पेश गरेका थिए ।

सो अवसरमा प्रदेश प्रमुख जोशीले आयोगले सन्तोषजनक कार्य सम्पादन गरेकोमा धन्यवाद व्यक्त गरे ।

सो अवसरमा आयोगका अध्यक्ष बोहराले लोकसेवा आयोगले समावेशी र समानुपातिक सिद्धान्तलाई अवलम्बन गरेर काम गरिरहेको बताए । उनले प्रदेश सभा बैठकबाट प्रदेश लोकसेवा आयोग विधेयक, २०७६ पारित भएपछि आयोगले कामकारबाही अघि बढाएको बताए ।

उनका अनुसार आयोगले हाल प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह प्राविधिक, तथा प्रदेश सरकार अन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिका लागि लिखित परीक्षा कार्य पुरा गरेको बताए ।

आयोगको द्वितीय प्रतिवेदनमा वन सेवा, जनरल फरेष्ट्री समूह, तहबिहीन, वनरक्षक, शिक्षा प्रशासनको प्राविधिक सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा एक वर्षमा पूरा गरिएको उल्लेख छ ।

प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका सदस्यहरु लक्ष्मणबहादुर खड्का र भागीरथी राना लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार