१४ बैशाख २०८१, शुक्रबार

डेंगु सङ्क्रमण बढेको बढ्यै



कैलाली देशका सबैभन्दा बढी दश सङ्क्रमित जिल्लामा
धनगढी/ सुदूरपश्चिम प्रदेशको कैलालीमा डेंगु सङ्क्रमण दर निरन्तर बढिरहेको छ । साउनको दोस्रो सातादेखि बढ्न थालेको डेंगु सङ्क्रमण कैलालीमा भदौको दोस्रो सातापछि भयावह बनेको हो । तथ्याङकअनुसार डेंगु सङ्क्रमण दरमा कैलाली सुदूरपश्चिम प्रदेशमा पहिलो स्थानमा पुगेको छ । त्यस्तै, नेपालको सबैभन्दा बढी डेंगु सङ्क्रमित रहेका १० जिल्लाभित्र कैलाली परेको छ ।


स्वास्थ्य विभागको इमिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी डेंगु सङ्क्रमित रहेका दश जिल्लामध्ये कैलाली नवौ स्थानमा पुगेको छ । सुदूरपश्चिम प्रदेशकै दार्चुला जिल्ला देशभरी सबैभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ११ औं स्थानमा पुगेको छ ।


कैलालीमा डेंगु सङ्क्रमितको संख्या शुक्रबारसम्म दुई सय ७८ पुगिसकेको छ । दार्चुलामा यो सङ्ख्या एक सय ९६ पुगेको छ । कैलालीमा सेप्टेम्बर (भदौ १६) देखि सङ्क्रमण एकाएक ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ । गत जुलाईमा कैलालीमा तीन जनामा मात्र सङ्क्रमण पुष्टि भएकोमा अगस्तमा यो सङ्ख्या १३ रहेको थियो । भने भदौ १६ यता अर्थात् सेप्टेम्बर शुरुभएता दुई सय ७८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

नेपालमा शुक्रबारसम्म डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नौ सय ८८ पुगिसकेको छ । डेंगुको उच्च प्रकोप भएको प्रदेशमा बागमती पहिलो स्थानमा रहेको छ । बागमतीमा १७ हजार सात सय ३१ सङ्क्रमित पुगिसकेका छन् । दोस्रो नम्बरमा रहेको लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या दुई हजार आठ सय २१ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या सात सय ७७ पुगेको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम दुई सय ३० जना सङ्क्रमित रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा साउनको दोस्रो सातादेखि डेंगु सङ्क्रमण विस्तारै बढ्न थालेकोमा भदौको तेस्रो सातादेखि एकाएक तीब्र बनेको छ । सुदूरपश्चिममा गत जुलाईमा १३ र अगस्तमा ५७ जनामा डेंगु पुष्टि भएकोमा सेप्टेम्बर (भदौ १६) देखि शुक्रबारसम्म छ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमणका कारण सुदूरपश्चिममा हालसम्म तीन जनाको मृत्यु भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगु सङ्क्रमणबाट कैलालीमा दुई र अछाममा एक जनाले ज्यान गुमाइसकेका छन् ।

कैलालीसहित सुदूरपश्चिम प्रदेशमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि अभियान चलाइएको भए पनि सङ्क्रमण दर भने निरन्तर उकालो लागिरहेको छ । स्वास्थ्य अधिकारीहरु भने रोकथामका प्रयासहरु प्रभावकारी नै रहेको बताउँछन् । स्वास्थ्य अधिकारीहरु पछिल्लो समय डेंगु सङ्क्रमणको रिपोर्टिङमा सुधार भएका कारण एकाएक सङ्ख्या बढेको देखिएको हो ।

“गत साउन दोस्रो सातादेखि नै कैलालीमा डेंगु सङ्क्रमण तीब्र बनिसकेको थियो, रिपोर्टिङको सिमितताका कारण यथार्थ सङ्ख्या प्राप्त हुनसकेको थिएन” जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका प्रमुख लालबहादुर धामीले भने– खासगरी सरकारी अस्पताल र पालिकामा रहेको केही सरकारी स्वास्थ्य केन्द्र र चौकीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीको तथ्याङ्कमा आधार बनाइएकोले साउनदेखि भदौ दोस्रो सातासम्म डेंगुको पूर्ण विवरण आउनसकेको थिएन ।

उनका अनुसार हाल निजी अस्पतालबाट समेत डेंगुको रिपोर्टिङ भइरहेकोले सङ्ख्या एकाएक बढेको देखिएको हो ।
हाल कैलालीको धनगढी उपमहानगरपालिकामा डेंगुको बढी प्रभाव देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार