२२ बैशाख २०८१, शनिबार

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका मुद्धामा दलहरु प्रतिवद्ध




धनगढी / यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले आफ्नो समुदायका मुद्धा राजनीतिक दलका चुनावी एजेण्डा बनाउन माग गरेको छ ।

ब्लु डायमण्ड सोसाईटीले धनगढीमा स्थानीय राजनीतिक दलहरुसंग मंगलबार गरेको छलफलमा यस्तो माग गरेको हुन ।
आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको तयारीमा जुटेका राजनीतिक दलहरुसंग सोसाईटीले यस्तो माग गरेका हो ।

‘राजनीतिक दलहरु चुनावी घोषणा पत्रको गृहकार्यमै रहेका छन्’ ब्लु डायमण्ड सोसाईटीको कार्यक्रम व्यवस्थापक भूमिका श्रेष्ठले वताइन । ‘समुदायमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई समाजले हेर्ने नजर अझ सुधार भएको छैन । त्यसका लागि राजनीतिक दलको भूमिका नै महत्वपूर्ण हुनेछ ।’

ब्लू डायमण्ड सोसाईटीका मुद्धाहरु राजनीतिक दलहरु सम्बोधन गर्नुपर्ने उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेकी छन् । उनले प्रस्तुत गरेको कार्यपत्रमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरु सक्षम हुँदा हुँदै पनि अवसर नपाएको उल्लेख गरिन ।

विद्यालयमा समेत सो समुदायलाई हेर्ने नजर अझै सुधार नभएको उनले बताइन । अव दलहरुले पनि निर्वाचनमा आफ्नो समुदायको मुद्धाहरु पनि चुनावी एजेण्डा बनाउनुपर्ने माग उनले दोहोर्याइन ।

कार्यक्रममा सहभागी राजनीतिक दलहरुले आफ्नो तर्फबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले मुद्धामा संवेदनशिल रहेको प्रतिबद्धता जाहेर गरे ।

नेपाली काँग्रेसका युवा नेता तपेन्द्र भुषालले आफ्नो तर्फबाट पूर्ण सहयोग रहेको बताउँदै पार्टीका विभिन्न निकायमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई राख्न पहल गर्ने बताए ।

‘काँग्रेस यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धामा संवेदनशिल छ’, उनले भने । ‘पार्टीका घोषणापत्रमा पनि समावेश हुन्छ ।’

यस्तै नेकपा माओवादी केन्द्र कैलालीका नेता रमेश धामीले पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्धामा आफ्नो पार्टी गम्भीर ढंगले अगाडि बढेको बताए । ‘माओवादी केन्द्र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले समुदायका मुद्धामा हिजो पनि संवेदनशिल थियो । अहिले पनि छ’ उनले भने ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटीका उपसचिव दिनेश चन्द सुवेदीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्धामा प्रतिबद्धता व्यक्त गरे । ‘पार्टीमा चुनावी घोषणा पत्र बन्नेक्रम जारी नै रहेको छ’, उनले भने । ‘यहाँहरुको मुद्धाहरु पनि समावेशका लागि दबाब दिनेछु ।’

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार