२४ बैशाख २०८१, सोमबार

पुस्तकालयलाई अहिलेको युग अनुसार सञ्चालन हुनुपर्छ : जोशी



टीकापुर / सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले पुस्तकालयलाई अहिलेको युग अनुसार सञ्चालन गर्नुपर्ने बताएका छन् ।

टीकापुर सामुदायिक पुस्तकालयको पाँचौ साधारण सभालाई शनिबार टीकापुरमा सम्वोधन गर्दै प्रदेश प्रमुख जोशीले औपचारिक शिक्षा अनुकूल नभएका मानिसका लागि पुस्तकालय महाविद्यालय र ज्ञानको भोक मेटने स्थान भएको बताए ।

‘पुस्तकालय अनौपचारिक महाविद्यालय हो, पुस्तकमा मान्छेको मन, समाज र देश बदल्न सक्ने शक्ति हुन्छ,’ जोशीले भने ‘पुस्तकालयमा भएका पुस्तक र आउने पाठकले यहाँको समाजको अवस्था झल्काउछ ।’

प्रदेश प्रमुख जोशीले पुस्तकालयलाई आवश्यक पर्ने सहयोग गर्न पहल गर्ने आश्वासन दिए ।

कार्यक्रममा पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराईले प्रविधियुक्त पुस्तकालय सञ्चालनका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताए ।

पूर्व सांसद गंगाबहादुर कुँवरले पुस्तकालयले कम्प्यूटर शिक्षामा जोड दिनुपर्ने सुझाव दिए । टीकापुर सामुदायिक पुस्तकालयका ८२६ आजिवन सदस्य, १९ वटा संस्थागत सदस्य छन् । एघार हजार पुस्तक रहेको पुस्तकालयमा एक वर्षमा चार हजार भन्दा बढी पाठकले प्रयोग गरेका छन् ।

एक वर्षमा २०० जनाले कम्प्यूटर शिक्षा लिएको पुस्तकालयका सचिव कण्ठराज गिरीले जानकारी दिए । दातृ संस्था र विभिन्न तहका सरकारको लगानीमा पूर्वाधार तयार भएका ग्रामीण क्षेत्रका पुस्तकालयहरु प्रशासनिक खर्च अभावमा सञ्चालनमा कठिनाई भैरहेको सञ्चालकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार