२२ बैशाख २०८१, शनिबार

लालपुर्जा सरकारलाई फिर्ता गर्दै मुक्त हलियाहरु




बेलडाँडी (कञ्चनपुर) / कञ्चनपुरका विभिन्न स्थानका २१ मुक्त हलिया परिवारले सरकारले प्रदान गरेको जग्गाधनी पुर्जा (लालपुर्जा) सरकारलाई नै फिर्ता गर्ने तयारी गरेका छन् । सरकारले जग्गाधनी पुर्जा दिए पनि जग्गामा अझैं बसोबास गर्न नपाएकाले लालपुर्जा फिर्ता गर्ने तयारीमा रहेको उनीहरुले बताएका छन् ।

सरकारले ७ वर्षअघि उनीहरुको बसोबासका लागि जग्गा खरिद गरेको थियो । तर, सो जग्गामा रहेको किचलो अझै समाधान नभएका कारण दिक्क भएर लालपूर्जा फिर्ता गर्ने निचोडमा पुगेको मुक्त हलियाहरुले बताए ।

पुनस्र्थापना हुनबाट बञ्चित मुक्त हलिया परिवारको सवाल सम्वन्धमा बेलौरीमा भएको कार्यक्रममा उनीहरुले अहिलेसम्म पनि जग्गामा बसोबास गर्न नपाएको गुनासो गरे ।

मुक्त हलिया गणेशराम चुनाराले ०७२ साल फागुनमा सरकारले जग्गा खरिद गरेर लालपूर्जा वितरण गरेको भए पनि २०७३ साल बैशाखमा जग्गा नापी गर्ने क्रममा स्थानीयले अवरोध गरेको बताए । उनले लालपुर्जा पाएको सात वर्षसम्म पनि जग्गामा बसोबास गर्न नपाएपछि आकासे लालपुर्जा सरकारलाई नै फिर्ता गर्ने बताए ।

मुक्त हलियाहरुले अहिले आफुहरु बसोबास गरिरहेको ऐलानी जग्गाको लालपुर्जा दिन सरकारसंग आग्रह गरे ।
अन्तक्र्रियामा राष्ट्रिय भूमि आयोग, कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले मुक्त हलियासंग लालपूर्जा भएकाले आयोगले भूमीहीनका हैसियतमा जग्गा दिन नसक्ने बताए ।

बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले २१ मुक्त हलिया परिवारलाई सम्वन्धित पालिकाले जग्गा किनेर भए पनि बसोबासको व्यवस्था गर्नुपर्ने बताए । उनले त्यसका लागि बेलडाँडी गाउँपालिका, बेलौरी र भीमदत्तनगरपालिकावीच छलफल हुन आवश्यक रहेको औल्याए ।

बेलाडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले मुक्त हलियालाई विवादित जग्गाको लालपूर्जा दिने सरकारी कर्मचारीहरुमाथि कारबाहीको माग गरिन् ।

सो अवसरमा याक नेपालका कार्यकारी निर्देशक डवल बमले भूमि आयोगले मुक्त हलियाको व्यवस्था गर्नुपर्ने बताए ।

लालपूर्जा भएर पनि जग्गा उपयोग गर्न नपाएका मुक्त हलिया परिवारमध्ये बेलडाँडी गाउँपालिका वडा नम्बर २ मा चार परिवार रहेका छन् ।

त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर १०, शिवनगरमा दुई, भुरामा पाँच, वडा नम्बर ८ पचईमा एक, वडा नम्बर ८ , कानपुरमा तीन तथा भीमदत्त नगरपालिका तिलाचौरमा छ परिवार रहेका छन् ।

२१ परिवार मुक्त हलियालाई बेलडाँडी गाउँपालिका–१ रतनपुरमा जग्गाको लालपूर्जा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार