१० श्रावण २०८१, बिहीबार

निर्धारित समयभित्र फाप्ला क्रिकेट मैदान निर्माण गर्छौ– अध्यक्ष शाही



धनगढी/ धनगढीमा निर्माणाधीन फाप्ला क्रिकेट मैदान तथा खेलग्राम विकास समितिका अध्यक्ष सुवास शाहीले निर्धारित समयभित्रै खेल मैदान निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार काठमाडौंमा युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजबाट नियुक्तिपत्र ग्रहण गर्दै अध्यक्ष आगामी तीन वर्षभित्र क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम विकास समितिको अध्यक्षमा शाही तथा सदस्यमा कल्पना दियाकोटीलाई मनोनित गरेको थियो ।

अध्यक्ष शाहीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै मन्त्री गहतराजले क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए ।

राष्ट्रिय प्राथमिकताको फाप्ला क्रिकेट मैदान निर्माणका लागि सरकारले गत बैशाख २६ गते फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९ जारी गरेको थियो ।

विकास समितिमा नौ सदस्यीय रहने जनाइएको छ ।

सरकारले यसअघि नै धनगढी–३ मा साढे ३८ विघा जग्गामा फाप्ला क्रिकेट मैदान र खेलग्राम निर्माण गर्ने निर्णय गरिसकेको छ ।
गठन आदेश अनुसार विकास समितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार