११ बैशाख २०८१, मंगलवार

जनक रसिकको उपन्यास दोरी प्रकाशित




धनगढी / सुदूरपश्चिमका चर्चित युवा लेखक जनक रसिकको पहिलो उपन्यास दोरी प्रकाशन भएको छ ।

विगत दुई दशकदेखि सुदूरपश्चिममा रहेर साहित्य सृजना गर्दै आएका रसिक यस क्षेत्रमा पठन संस्कृतिको विकास, परिवर्तित समयमा साहित्यिक माहौल निर्माण र राष्ट्रिय मूलधारमा सुदूरपश्चिमको बहुआयामिक पहिचान स्थापित गर्न सिर्जनाका विभिन्न आभियान सञ्चालन गर्दै आएका छन् ।

सुदूरपश्चिममा टिकटमा रचनावाचन कार्यक्रमको सुरुवात गरेर यस क्षेत्रका सर्जकहरुको सृजनात्मक सशक्तीकरणमा पनि उनले विशेष पहल गरिरहेका छन् ।

साहित्यका बहु विधामा कलम चलाउने रसिक सुदूरपश्चिमको समाज, राजनीति र समसामयिक मुद्दामा समेत निरन्तर कलम चलाइरहेका छन् ।

कविता र गजल विधामा आफ्नो छुट्टै पहिचान बनाएका रसिकका कथा र निबन्ध पनि उति नै रुचाइएका छन् ।

२०६३ सालमा सुदूरपश्चिमको पहिलो पूर्ण छन्दमा आधारित गजल संग्रह युगीन सपना प्रकाशन गरेका रसिकका संयुक्त गजल र संयुक्त कविता संग्रहहरु पनि प्रकाशित छन् । पछिल्लोपटक राज्यको पुनर्संरचनासँगै स्थापित पहिलो प्रदेशसभा सम्बन्धि ऐतिहासिक पुस्तक नीति निर्माताु प्रकाशन गरेका रसिक राजनीतिक विश्लेषणमा पनि सशक्त ढंगले कलम चलाउँछन् ।

नेपाली साहित्यमा विज्ञान र प्रविधि विषयमा लेखन प्रकाशन खासै नभएको अवस्थामा दोरी उपन्यास मार्फत रसिकले यो विषय सशक्त ढंगले प्रवेश गराएका छन् ।

उपन्यासमा सुदूरपश्चिमको ग्रामीण क्षेत्रबाट रोजगारीका लागि प्रविधिसम्पन्न देश जापान पुगेका एक अशिक्षित युवकको कथा निकै मार्मिक र कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

विज्ञान प्रविधिको विकास र हाम्रो जीवनस्तरबिचको व्यापक असमानताले केकस्ता समस्या उत्पन्न भैरहेका छन् र यो असमाञ्जस्यता बढ्दै गएमा भविष्यमा कस्ता दुर्घटना हुनसक्छन् भन्ने कुरा उपन्यासले उठाएको मूल मुद्दा हो ।

सुदूरपश्चिमको लबज, मीथकको कसिलो प्रयोग गरिएको उपन्यासको कथा सरल सटिक र आकर्षक शैलीमा निर्माण गरिएको छ ।

भौतिक विज्ञानमा स्नातकोत्तर अध्ययन गरेका रसिक साहित्यलाई केवल एक विधाको रुपमा मात्र नबुझी आधुनिक समाज र जीवनशैली सुव्यवस्थापनको महत्त्वपूर्ण साधनको रुपमा बुझ्नुपर्ने मान्यता राख्दछन् ।

काठमाडौंस्थित शिखा बुक्सले प्रकाशन गरेको उपन्यास आगामी साता औपचारिक कार्यक्रमका साथ सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार