३ जेष्ठ २०८१, बिहीबार

राष्ट्रिय भलिबल प्रतियोगिता : गण्डकी, बागमती र पुलिस क्लव विजयी



धनगढी / धनगढीमा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको मंगलबारको खेलमा नेपाल पुलिस क्लब तथा गण्डकी र बागमती प्रदेशले जीत प्राप्त गरेका छन् ।

मंगलबारको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले प्रदेश नम्बर १ लाई २५–१८, २५–१० र २५–१८ को सोझो सेटमा पराजित गर्यो । सो खेलको म्यान अफ द म्याच नेपाल पुलिस क्लवका रविन चन्द बने ।

दोस्रो खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपीएफलाई ३–१ को सेटमा हरायो । गण्डकीले २५–२० र २५–१८ ले पहिलो र दोस्रो सेट जितेकोमा तेस्रो सेट भने १९–२५ ले गुमायो । चौथो सेटमा भने गण्डकीले २५–२३ ले खेल जित्यो । खेलको म्यान अफ द म्याच गण्डकी प्रदेशका घनश्याम चौधरी बने ।

मंगलबारको अन्तिम खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३–१ को सेटले पराजित गर्यो ।

बागमतीले पहिलो सेट २५–१६ ले जितेकोमा दोस्रो सेट भने मधेस प्रदेशले २५–२३ ले जितेको थियो । तर, त्यसपछि बागमतीले २५–२१ र २५–१६ तेस्रो र चौथो सेट जित्यो । सो खेलको म्यान अफ द म्याच बागमती प्रदेशका नविन महतो बने ।

पराजयसंगै मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा लुम्बिनीबाहेक छ वटा प्रदेश र तीन वटा विभागीय गरी नौ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार