३ जेष्ठ २०८१, बिहीबार

यु–१९ महिला राष्ट्रिय क्रिकेट : गण्डकी र बागमती प्रदेशको जीत



धनगढी / धनगढीमा जारी अण्डर–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा गण्डकी र बागमती प्रदेशले जीत हात पारेका छन् ।

गण्डकीले प्रदेश नम्बर १ लाई १५ रनले हरायो भने बागमतीले लुम्बिनीलाई १८ रनले पराजित ग¥यो ।

मंगलबारको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर जम्मा ४९ रन मात्रै बनायो । गण्डकीका कोही पनि ब्याट्सवुमनले दोहरो अंकको रनस्कोर बनाउन सकेनन् ।

बलिङतर्फ प्रदेश १ का ज्योति दनवारले तीन विकेट लिइन् ।

५० रनको अति सामान्य लक्ष्य पनि प्रदेश नम्बर १ का लागि कठिन बन्यो । प्रदेश १ ३४ रनमा अलआउट भएको थियो । अञ्जली शाहले बनाएको १० रन नै प्रदेश १ को ब्याटिङ पारीमा सबैभन्दा उच्चस्कोर थियो ।

बलिङतर्फ गण्डकीका कुसुम गोदार र ज्योत्सनिका मरासिनीले तीन/तीन विकेट लिए भने महिशा उपाध्याय र निरु घर्तीले दुई/दुई विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच गण्डकीका कुसुम गोदार बनिन् ।

मंगलबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा चार विकेट गुमाएर एक सय एक रन बनायो । बागमतीका हेलिशा गुरुङले चार चौका हिर्काउँदै ४८ रनको आकर्षक पारी खेलिन । त्यस्तै, सलिना सिलवालले ३१ रन बनाइन ।
बलिङतर्फ लुम्बिनीका आश्मा पुलामीमगरले दुई र मनिशा रानामगरले एक विकेट लिए ।
जवाफमा लुम्बिनी १६ दशमलव चार ओभरमा ८३ रनमा समेटियो । लुम्बिनीका रञ्जु श्रेष्ठले २३ र जिज्ञासा थापा तथा सुस्मिता भुसालले १२/१२ रन बनाए ।

बलिङतर्फ बागमतीका सोनी पाख्रिन र लक्ष्मी खड्काले तीन/तीन तथा विपीश्ना शाहीले दुई विकेट लिए । एक/एक विकेट कृष्मा गुरुङ तथा हेलिशा गुरुङको नाममा रह्यो ।

खेलको प्लेयर अफ द म्याच बागमतीका हेलिशा बनिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार