२ जेष्ठ २०८१, बुधबार

मेयर धनगढी प्याब्सन कपको सेमिफाइनल समिकरण पूरा



स्टेपिङ, एरिस्टो, लिटल फ्लावर र पञ्चोदय अन्तिम चारमा



धनगढी / मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

धनगढी स्थित प्रदेश प्रहरीको खेलमैदानमा जारी प्रतियोगितामा आज भएको दुई खेलमा जीत निकाल्दै पञ्चोदय र लिटल फ्लावर पनि अन्तिम चारमा प्रवेश गरेका हुन् । स्टेपिङ र एरिस्टो भने यस अघि नै सेमिफाइनल पुगिसकेका टीम हुन् ।

आजको पहिले खेलमा लिटल फ्लावरले थ्री स्टारमाथि ७४ रनको सानदार जित निकाल्यो । टस जितेर ब्याटिङका लागि मैदान उत्रिएको लिटल फ्लावरले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

१४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको थ्री स्टारले १२.५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७४ रन मात्रै बनाउन सक्यो । उसका लागि अविनाश विकले १६ र सार्थक सिंहले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन ।

थ्री स्टारलाई सस्तैमा समेट्न लिटलका सार्थक वम र पुष्कर बडुले ३÷३ तथा अनुराग सिंह र नरेन भट्टले समान २/२ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा लिटलका पारस ऐरले ३२, शैलेश केसीले ३०, नरेन भट्टले २७, दिपेश साहुले अविजित १५ तथा रुपेश थापाले अविजित १४ रन बनाए । बलिङतर्फ सचिन नेगी र पारस भट्टले समान २/२ तथा किरण साहुले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच लिटलका सार्थक बम चुनिए ।

आजैको सेमिफाइनलको अन्तिम खेलमा पञ्चोदय माध्यमिक विद्यालयले शारदा माध्यमिक विद्यालयमाथि ५ विकेटको जित दर्ता ग¥यो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर ११० रन बनायो । १११ रनको विजयी लक्ष्य पछ्याएको पञ्चोदयले १४.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि जीवन थलालले ३४, मदन शाह र सन्देश शाहले समान १५/१५ तथा तुलाराम ढाटले १४ र सुरेश ऐरले १० रन बनाए ।

त्यसअघि पहिलो इनिङमा शारदाका गौरव कार्कीले एक्लै ७१ रनको सानदार पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । उनले ७१ रन बनाउने क्रममा ६ छक्का र ४ चौका प्रहार गरेका थिए । उसका लागि आयुश ऐरले २३ रन बनाए । खेलको प्लेयर अफ दी म्याच पञ्चोदयका जीवन चुनिए ।

अब फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा एरिस्टो र स्टेपिङ तथा दोस्रोमा लिटल र पञ्चोदय प्रतिस्पर्धा गर्नेछन् । धनगढी प्याब्सनको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैंया र उपविजेताले ५१ हजार १११ रुपैंया प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए ।

उनका अनुसार व्यक्तीगत विधातर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंया, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार