२ जेष्ठ २०८१, बुधबार

धनगढी प्याब्सन कप :थ्री स्टार, लिटल फ्लावर र पञ्चोदय विजयी





धनगढी / धनगढीमा जारी धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलहरुमा थ्री स्टार स्कुल, लिटल फ्लावर हाइस्कुल र पञ्चोदय माध्यमिक विद्यालय विजयी भएका छन् ।

मंगलबारको पहिलो खेलमा थ्री स्टारले वेष्टर्न क्रिष्टल एकेडेमीलाई ३४ रनले पराजित गर्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको थ्री स्टारले निर्धारित १५ ओभरमा छ विकेट क्षतीमा एक सय २६ रन बनायो । थ्री स्टारका किरण साउदले ३५ बनाए भने राजेश कार्कीले २१, गणेश कुञ्जेडाले १७ तथा हेमन्त रोकायाले १५ रन बनाए ।

एक सय २७ रनको विजयी लक्ष पछ्याएको वेष्टर्न १५ ओभरमा तीन विकेट गुमाएर ९२ रनमा समेटियो । बेष्टर्नका रमेश चौधरीले २१ रन बनाए भने नीरज नेपाल तथा रोशन साउदले १७/१७ रन बनाए ।

सो खेलको म्यान अफ द म्याच थ्री स्टारका किरण साउद बने । दोस्रो खेलमा लिट फ्लावरले अक्सफोर्ड स्कुललाई ५९ रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको लिटल फ्लावरले १५ ओभरमा तीन विकेट क्षतीमा एक सय ५० रनको विशाल स्कोर बनायो । लिटल फ्लावरका सैलेश केसीले चार छक्का र पाँच चौका हिर्काउदै ४८ बनाए भने अनुराग सिंहले तीन छक्का र तीन चौकासहित अविजित ४२ रन बनाए ।

जवाफमा अक्सफोर्ड ९१ रनमा सिमित भयो । अक्सफोर्डका निराजन बिष्टले मात्र २३ रन बनाए । खेलको म्याच अफ द म्याच लिटलका अनुराग सिंह बने ।

मंगलबारको तेस्रो खेलमा पञ्चोदयले ज्योति बोर्डिङ स्कुलमाथि ७ विकेटको विजय प्राप्त गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको ज्योति स्कुलले १५ ओभरमा नौ विकेट गुमाएर ९१ रन मात्रै बनायो ।

९२ रनको विजयी लक्ष्य पाएको पञ्चोदयले ११ दशमलव चार ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । पञ्चोदयका निकेश धामीले अविजित २६ रन बनाए । भने विष्णु रेग्मीले ११ र सन्देश शाहले अविजित १० रन बनाए । खेलको म्यान अफ द म्याच पञ्चोदयका निकेश बने ।

धनगढी प्याब्सनको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैंया पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार