२ जेष्ठ २०८१, बुधबार

मेयर धनगढी प्याब्सन कप : ऐश्वर्य, स्टेपिङ स्टोन र कैलाली विद्या निकेतन विजयी




धनगढी / धनगढीमा जारी मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा आज भएका तीन खेलमा ऐश्वर्य विद्या निकेतन, स्टेपिङ स्टोन र कैलाली विद्या निकेतन स्कुल विजयी भएका छन् ।

आजको पहिलो खेलमा ऐश्वर्य विद्या निकेतन स्कुलले कैलाली मोडेल स्कुललाई २२ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको ऐश्वर्यले १३.३ ओभरमा १० विकेट गुमाएर १ सय १० रन बनायो । १ सय ११ रनको विजयी लक्ष पछ्याए मैदान उत्रिएको कैलाली मोडेलले १५ ओभरमा ४ विकेट गुमाएर ८८ रन मात्रै बनाउन सक्यो । उसका वरुण बुढाले २६ र प्रतिक सिंहले २३ रन बनाए । त्यस अघि ऐश्वर्यका ओम प्रकाश भट्टले २३, राकेश विष्टले २२ र सुरेन्द्र धामीले १६ रन बनाए । खेलको प्लेयर अफ दी म्याच राकेश चुनिए ।

दोस्रो खेलमा ग्ली एकेडेमीलाई ८ रनले पराजित गर्दै स्टेपिङ विजयी भयो । टस जितेर ब्याटिङ रोजेको ग्लीका लागि नवीन कुँवरले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ५३ रनको झिनो लक्ष पछ्याएको स्टेपिङले ६.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष भेट्टायो । उसका विशाल विष्टले अविजित २३ रनको पारी खेले भने आर्यान धामी १५ रन बनाएर आउट भए । खेलको प्लेयर अफ दी म्याच ग्लीलाई सस्तैमा समेट्न तीन विकेट लिएका स्टेपिङका बलर भुपेश जोशी भए ।

आज भएको तेस्रो खेलमा कैलाली विद्या निकेतनले ब्राइट वे पब्लिक स्कुललाई १ सय ३९ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कैलाली विद्या निकेतनले मीन शाहको शतकीय पारीसँगै १५ ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रनको विशाल योगफल खडा गर्यो । १ सय ९३ रनको विजयी लक्ष पछ्याएको ब्राइट वे स्कुलले १३.३ ओभरमा १० विकेट गुमाएर ५३ रन मात्रै बनाउन सक्यो । पहिलो इनिङमा कैलाली विद्या निकेतनका मीन शाहले ३६ बलमै ७ छक्का र ११ चौकाको मद्दतले आक्रामक सतकीय पारी खेले ।

उनले प्रतियोगितामै ऐतिहासिक पहिलो शतक प्रहार गरेका हुन् । कैलालीलाई विशाल योगफल तर्फ लम्काउन मुकेश शाहले पनि ३१ बलमा ४४ रनको पारी खेले । खेलको प्लेयर अफ दी म्याच सतकीय पारी खेलेका शाह चुनिए ।

धनगढी प्याब्सनको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैंया प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंया, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार रुपैंया पाउनेछ ।

धनगढीको प्रदेश प्रहरी कार्यालयको मैदानमा जारी प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ । सहभागी विद्यालयहरूमा एरिस्टो इङ्लिस बोर्डिङ हाई स्कुल, शारदा विद्या निकेतन, ग्यालक्सी हाई स्कुल, त्रिनगर माध्यमिक स्कुल, ओक्सफोड युनिभर्सल रिडेक्स हाई स्कुल, धनगढी मोडेल टेक्निकल स्कुल, ग्ली एकेडेमी स्कुल, लिट्ल फ्लावर बोर्डिङ हाई स्कुल, द गार्डनर इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

यस्तै, शारदा माध्यमिक स्कुल, कैलाली मोडेल एकेडेमी स्कुल, ऐश्वर्य विद्या निकेतन धनगढी, वेष्टन क्रिष्टल एकेडेमी, ज्योति इङ्लिस बोर्डिङ स्कुल, कैलाली विद्या निकेतन, फारवेष्ट इङ्लिस बोर्डिङ स्कुल, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, थ्री स्टार बोर्डिङ स्कुल, ब्राइट वे पब्लिक स्कुल र पञ्चोदय माध्यमिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार