२ जेष्ठ २०८१, बुधबार

मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपः मनाङलाई खप्तड गोल्डकपको उपाधी




धनगढी / मनाङ मस्र्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो । मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो । उसले पहिलो संस्करणको पनि उपाधि जितेको थियो ।

मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे । फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए ।

खेलको २२ औं मिनेटमा दिनेशले फ्रि–किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए । त्यस अघि १९ औं मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार मनाङका गोलकिपर विशाल सुनारले बचाए ।

तर, ५१ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ७२ औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिए ।

त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए । उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ ।

मनाङका शिशिर लेखी सर्वोत्कृष्ट खेलाडी भए । उनले एक लाख पाएका छन् । मनाङकै विशाल सुनार उत्कृष्ट गोलरक्षक, राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक, मौसा अवगाना उत्कृष्ट मिडफिल्डर भए ।

फेन्ड्सका सुरज विश्वकर्मा उत्कृष्ट रक्षक र फेन्ड्सकै जमोउल एन्थोनी फ्रान्कोईस सर्वाधिक गोलकर्ता भए । सुदुरपश्चिम ११ का फागुराम चौधरी उदयमान खेलाडी भए । उनीहरुले जनही २० हजार पाएका छन् ।

विजयी खेलाडीहरुलाई एक कार्यक्रम गरेर पुरस्कार वितरण गरिएको छ । सुदुरपश्चिम ११ का अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमवहादुर आले रहेका थिए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र सामाजिक विकासमन्त्री लालबहादुर थापा उपस्थित थिए ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार