२ जेष्ठ २०८१, बुधबार

मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपः बागमतीलाई हराउँदै फ्रेन्ड्स फाइनलमा



धनगढी / फ्रेन्ड्स क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।

गोल्डकपको फाईनल खेल शनिबार धनगढी रंगशालामा हुनेछ । फ्रेन्ड्सले उपाधिका लागि मनाङसँग प्रतिस्पर्धा हुनेछ । मनाङले हिमालयन शेर्पालाई हराएर फाईनल पुगिसकेको छ ।

पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको थियो । फ्रेन्ड्सलाई फाइनल पुर्याउनका लागि जमोउल एन्थोनी फ्रान्कोईस र राजीब लोप्चनले एक एक गोल गरे । बागमतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए ।

खेलको ६४ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । खेलको ७१ औं मिनेटमा राजीबले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा जुनियरले गोल गरे पनि बागमती २–१ ले पराजित भयो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका फेन्ड्सका श्याम केपछाकी म्याच अफ द म्याच भए । उनले नगद १० हजार पाए ।

खेलपछि प्रतिक्रिया दिदैं फ्रेन्ड्सका प्रशिक्षक मिगेन्द्र मिश्रले फाईनल पुग्ने लक्ष्य बोकेर आएको र त्यसका लागि खेल्दा जित्न सफल भएको बताए । ‘वागमतिले पनि राम्रो खेलेको थियो । योग प्लेयरले राम्रो लेखे । उनीहरुलाई अनुभवको कमि थियो । हामीले त्यसलाई क्यास गरेयौ ।

हामीले ईज्जतका लागि पनि जित्नुपर्ने दबाब थियो । खेल जित्यौ ।’ प्रशिक्षक मिश्रले भने–‘पहिलो हाफमा हामीले गोल खाने अवस्था पनि थियो । त्यो वागमतिले विगारेपछि हामीले रणनिति चेन्ज गर्यौ । अव हामी उपाधि जित्छौ । २१ लख लिएरै जाने हो ।’
वागमति युवा क्लबका प्रशिक्षक रोजित केसीले ए डिभिजन क्लब विरुद्ध राम्रो खेलेको प्रतिक्रिया दिए । ‘समग्रमा राम्रो खेल्यौ ।

हामी अनुभवका लागि आएको हो र राम्रौ छाप छोडेर गएका छौं ।’ प्रशिक्षक केसीले भने–‘धेरै म्याच खेल्दा फिटनेसमा समस्या देखियो । टाईब्रेकरमा लैजाने हाम्रो सोच थियो । त्यसमा सफल भएनौं । आजको खेलमा विदेशी खेलाडीले पनि राम्रो खेल्न सकेनन् ।’
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार